जुम्ला । “देशलाई माया गर्ने, चिनाउने र प्रवर्द्धन गर्ने प्रयास माथि कुण्ठा जनाउने प्रवृत्तिहरू बढ्दै छन् । तर यस्तो असहिष्णुता स्वतन्त्र समाजका लागि खतरा हो,” तातोपानी गाउँपालिका–४ का अध्यक्ष तथा गैरसरकारी संस्था महासंघ, जुम्लाका पूर्व अध्यक्ष अमर रोकाया कडा स्वरमा भन्छन् ।

उनको भनाइले एउटा गहिरो सन्देश दिन खोज्छ । लोकतन्त्र केवल चुनाव जित्ने अभ्यास होइन, यो प्रत्येक नागरिकले स्वतन्त्र रूपमा आफ्नो विचार राख्न पाउने संरचना हो ।
रोकायाका अनुसार नेपालको संविधानले नागरिकलाई अभिव्यक्तिको स्वतन्त्रता, विचार राख्ने अधिकार र देशको कुनै पनि कुनामा स्वतन्त्र रूपमा घुम्न सक्ने हक प्रत्याभूत गरेको छ।
तर पछिल्लो समय यिनै अधिकार माथि घृणा, आलोचना र अपमानजनक भाषा प्रयोग गरेर कुण्ठा जनाउने प्रवृत्ति बढ्दै गएको प्रति उनले गहिरो चिन्ता व्यक्त गरेका छन् ।
“कसैको देशको बारेमा गरेको प्रचार, पर्यटन प्रवर्द्धन वा स्थानीय संस्कृतिको प्रशंसा सहन नसक्ने प्रवृत्तिहरू लोकतान्त्रिक आचरण विपरीत छन्,” रोकायाले भने, “यस्ता अभिव्यक्तिहरू माथि व्यक्तिगत आक्रोश वा राजनीतिक पूर्वाग्रहका आधारमा आक्रमण गर्नु केवल आपत्तिजनक मात्र होइन, मानव अधिकारको उल्लंघन हो ।”
उनले अभिव्यक्ति माथिको आक्रमणलाई एक प्रकारको ‘दुर्व्याख्या गरिएको राष्ट्रवाद’ को संज्ञा दिएका छन्। रोकायाले स्पष्ट रूपमा भने, “हामी पाहुनालाई अपमान गरेर राष्ट्रियताको रक्षा गर्दैनौं ।
पाहुनाको सम्मान गर्न सक्ने संस्कार विकास गर्नु हाम्रो दायित्व हो। स्वदेशी होस् वा विदेशी, जोसुकै व्यक्तिले मुलुकको पर्यटन, विकास र संस्कृतिको प्रवर्द्धनमा योगदान दिन सक्छ।”
उनका अनुसार, आफ्नो सस्तो लोक प्रियताको लागि अरूको अभिव्यक्तिमा बाँध लगाउने प्रयासले समाजलाई झनै विभाजित बनाउँछ । लोकतन्त्र भनेको सबैलाई बोल्न दिने थलो हो ।
कसैको अभिव्यक्तिमा अपमान, घृणा र प्रतिशोध मिसाएर प्रतिवाद गर्नु भनेको स्वतन्त्रताको मूल्य घटाउने काम हो । यो सन्देश केवल जुम्लाको सन्दर्भमा होइन, सम्पूर्ण नेपाली समाजका लागि चेतावनी भएको उनकाे भनाइ छ ।अभिव्यक्तिको गला नघोटौं, बरु सहिष्णुता र सम्मानको संस्कार बलियो बनाऔं ।





