जुम्ला । जुम्ला चन्दननाथ नगरपालिकाकाे जुम्ला बजार। बिहान सबेरै बजारका पसल क्रमशः खुल्छन् । तर एउटा कुनामा रहेको पुरानो जस्ता पाताले छाएकाे टहरा भित्र भने ठकठक, टकटक गर्दै फलाम कुटेको आवाज सँधै सुनिरहने गरेकाे छ । सानो जस्ता पाताले छाएकाे टहरा भित्र ५५ वर्षे तुलराम कामी हथौडाले फलाम पिट्ने काम गर्छन् ।

शरीर कमजोर भए पनि उनको अनुहारमा ताजगी र आँखामा झल्किने चमक आज पनि पुरानै छ । कारण जीवनसाथी जस्तै बनेको आरन, हथौडा र फलामसँगको नाता । तुलराम कामीकाे जुम्लाकै चन्दननाथ नगरपालिका ८ काे जाँतीभिडमा
जन्म भएको हो। बाल्यकालदेखि नै आरन हथौडा देखेर हुर्किएका उनी २०६५ तिर जुम्ला बजारमा बजार आए।
बजार आएपछि उनले पसल खोजेर कुखुरी, बन्चरो, हँसिया, चुलेसी, काेदालाे, कुटाे जस्ता दैनिक जीवनमा प्रयोग हुने औजार बनाउन थाले । धान रोप्ने बेला किसान हँसिया माग गर्न आउछन् , मकै गाेडमेल गर्ने बेला कुटाे लगाएतका सामाग्री बनाउन उनकाे आरन आउने गरेकाे उनका छन् । कसैको घरमा चक्कु बिग्रियो भने मर्मतका लागि यही पसल खोजिन्छ, तुलराम कामी भन्छन् ।
कामीका अनुसार सुरुदेखि नै कामको कमी कहिल्यै भएन । तर आज उमेरले ५५ वर्ष टेक्दा साथी मध्ये कतिले पेसा छाडिसके, कतिले बुढ्यौलीले काम गर्न सकेनन्। कनमीले भने् । अझै पनि पसलमै दिन बिताउँछन्। बिहान पसल सफा गर्छन्, फलाम तताउँछन् र हातले कुटेर औजार बनाउँछन्। जीवनमा धेरै उतारचढाव देखेका उनले हाल श्रीमतीसँगै बजारमा बस्छन् ।
दुई छोरी विवाह गरेर आ–आफ्नो घरमा छन्। एक छोरा अहिले उनकै साथमा रहेर घरकाे कामकाज गरिरहेका छन् । घर परिवार आ-आफ्नो काममा व्यस्त भए पनि तर तुलराम भने आरन पेशा प्रिय छ। उनले भने, म १३ वर्षकाे हुदा आरन काम गर्न थालेकाे हाे । अहिले आरन पेशा गर्न थालेकाे ४५ वर्ष भयाे । मेरो जीवन यही आरनमै बित्यो, यही मेरो घर हो तुलरामले भावुक हुँदै भने ।
तर उनीसँगै यो सीप हराउने डर पनि बढेको छ। छोरानाति कसैले सिक्न चाहेनन् । सबैको सपना सहर वा विदेशमै छ। अब मेरो पछि यो काम सकिने भयो,उनले दुखेसो पोखे ।
उनले नमिठाे कथित दु:ख सुनाए । पहिलाका वर्षहरूमा आरन काम गर्दा एक माना चामल,खुर्सानी, नुनमा परिश्रम साठिन्थ्याे । त्यही पनि हाम्रा लागि सर्वथाेक थियाे । कुनै व्यवसाय नभएका हामी दलित परिवारका लागि एक माना चामलले छाक टार्न सहज हुन्थ्याे ।
गाउँमा घर परिवार पाल्न त्यति सजिलाे थिएन् । दिनभरि साहुकाे खेतबारीमा काम गर्नु पर्ने र साँझ,बिहान आरन काम गरेर जहान पाल्ने गरेकाे बताए । तर पहिले ती दिनहरू भन्दा हिजोआजका दिन परिवर्तन भएको उनकाे भनाइ छ । पहिला एकमाना चामलमा हुने काम हिजाेआम पैशा सँग काम हुने गरेकाे छ । एक माना चामल भन्दा पैशा दिने चलनले सहज भएकाे उनकाे भनाइ छ ।
तुलराम कामी मात्र होइन, देशभर परम्परागत सीप बोकेका कारिगर लोपोन्मुख अवस्थामा छन् । सबैलाई आधुनिक उपकरण र बजार संस्कृतिले विस्थापित गरिरहेको छ । तर, तुलराम जस्ता सीपधारीहरू हाम्रो समाजका लागि जीवित प्रेरणा हुन् ।
जीवनभर पुर्ख्यौली पेसालाई अँगालेका उनले परिवार पाल्न सके अरू केहि नचाहिने बताए । तर अहिले उनको आरनमा गुन्जिने फलामको आवाज क्रमशः केही रूपमा मन्द हुँदै गएको छ। बराइली भन्छन्, म यो आरनसँगै बाँचेँ, यहीँ मर्छु पनि । तर यो सीप बाँचिराखोस् भन्ने मेरो चाहना हो।
उनको चाहना केवल व्यक्तिगत इच्छा मात्र होइन, मौलिक सीप जोगाउन समाज र सरकार दुवैको चुनौती पनि हो । अब प्रश्न उठ्छ हामी मौलिक पेसा जोगाउन तयार छौँ वा तुलराम सँगै हराउँदै जान दिने छौँ ? यस्ता लाेभ हुन लागेका पुख्र्यौली पेशा लाई स्थानीय सरकार देखि संघ, प्रदेश सरकारले अनुदानका कार्यक्रममा सहयाेग गरेमा राेजगार सृजना बढ्ने देखिन्छ ।





