गौरा पर्वको बेला गाउँको चौतारीमा जमेको भीड, हातमा हात समातेर बनेको ठूलो घेरा, लयमा गुञ्जिरहेको सामूहिक स्वर र पद्यमा मिसिएका सन्देस हो । देउडा खेल्दा लाग्छ यो केवल खेल र गीत मात्र होइन, यो त एउटा जीवन्त विद्यालय हो, जहाँ ज्ञान, शिक्षा र जनचेतना लयसँगै प्रवाहित हुन्छ।

सुदूरपश्चिम नेपालको आस्था, संस्कृति र परिचयको केन्द्र हो। यहाँ मनाइने गौरा पर्व र त्यसैसँग गाइने देउडा गीत–नृत्य केवल परम्परागत उत्सव मात्र होइन, विगतदेखि आजसम्म समुदायलाई सिकाउने, सचेत बनाउने र जोड्ने साझा मञ्च हो। २०–३० वर्षअघि जब सञ्चार साधनहरू थिएनन्, सामाजिक सञ्जाल अकल्पनीय थियो र विद्यालयको पहुँच सीमित थियो, त्यतिबेला गाउँमा सूचना, शिक्षा र चेतनाको प्रमुख स्रोत यही देउडा गीत र गौरा पर्व थिए।
यसले गाउँ–गाउँमा संवादको सेतु बनायो, ज्ञान साट्ने खुला चौतारी बनायो र सामाजिक मूल्यहरूको जीवन्त पाठशाला निर्माण गर्यो। देउडा केवल मनोरञ्जन होइन, सन्देशको माध्यम हो। हातमा हात समातेर घेरा बनाइ खेलिने देउडामा सहभागीहरू समूहगत रूपमा दोहोर–जवाफ शैलीमा गीत उचाल्छन्। पद्यहरू तत्काल सिर्जना हुन्छन्, भावना, विचार र चेतनाको प्रवाह एकैसाथ हुन्छ।
यही मौलिक शैलीले देउडालाई मौखिक शिक्षण प्रणाली बनाएको छ। यसका गीतहरूमा जीवनोपयोगी सन्देश मिसिएका हुन्छन् ।
“स्कूल पठाउनु बच्चालाई, अज्ञानता टाढा भाग्छ।”
“खोप लगाऔं बालबालिकालाई, रोगबाट बचाऔं।”
“छाउपडी छोडौँ बहिनी हो, स्वास्थ्यलाई रोजौँ बहिनी हो।”“विपद् पूर्वतयारी, सबैको जिम्मेवारी।”
यी गीतहरूले स्वास्थ्य, शिक्षा, सरसफाइ, लैंगिक समानता, विपद् व्यवस्थापन, बालविवाह, छुवाछूत र महिला सशक्तीकरणका सन्देश समुदायसम्म पुगाऊछन्। उदाहरणका लागि, हुम्लाका विद्यालयका छात्राहरूले देउडा गीतमार्फत खोप र साक्षरताको महत्त्व गाउँ–गाउँमा प्रचार गरेका थिए। देउडाले त्यतिबेला चेतनाको ज्वारभाटा ल्याएको थियो, जसको प्रभाव आजसम्म देखिन्छ।
तर औपचारिक गुणस्तरिय शिक्षा र सुरक्षित सिकाइ प्रणाली अझै सुदूरपश्चिमका दुर्गम बस्तीतिर पुग्न सकेको छैन। साक्षर प्रदेश घोषणा भए पनि विद्यालय भवनको कमी, शिक्षकको अभाव र पूर्वाधार अभावले शिक्षा अझै चुनौतीपूर्ण देउडाको त्यो घेराभित्र आमा, बाबु, दिदी, बहिनी, हजुरबा, हजुरआमा सबै उपस्थित हुन्छन्, गीत गाइन्छ, पद्य बनाइन्छ, र हरेक शब्दमा ज्ञान, शिक्षा र जनचेतनाको बीज बोइन्छ।
देउडा केवल सिकाइको माध्यम मात्र होइन, समुदायलाई जोड्ने शक्ति पनि हो। गौरा पर्वमा टोल–टोलका मानिसहरू एउटै ठाउँमा भेला हुन्छन्, एक–अर्कालाई चिन्छन्, विचार साट्छन् र अनुभव साझा गर्छन्। नयाँ पुस्ता पुराना लोककथाहरू, परम्परागत ज्ञान र सामाजिक मूल्यहरू सिक्छ भने पुराना पुस्ताले नयाँ पुस्ताबाट आधुनिक सन्देश ग्रहण गर्छ।
आज प्रवासी नेपाली समुदायले पनि देउडालाई आफ्नो पहिचानको प्रतीकका रूपमा बचाइरहेका छन्। काठमाडौं, पोखरा, धरानदेखि टुँडिखेलसम्म आयोजित देउडा महोत्सवहरूले राजधानीमै सुदूरपश्चिमको संस्कृति, कला र पहिचानलाई परिचित बनाइदिएका छन्। देउडाको अनौपचारिक शिक्षण शैली अद्वितीय छ।
सामूहिक रूपमा घेरा बनाएर खेलिने देउडाले अनुशासन, पालोको महत्त्व र सहकार्य सिकाउँछ। गीतका पद्यमा कृषि, स्वास्थ्य, संस्कृति, भाषा र इतिहासका सन्देश मिसिएका हुन्छन्, जसले पुस्तादेखि पुस्तामा ज्ञान सर्छ।
छाउपडी, शिक्षा, समानता र विपद् व्यवस्थापनसम्बन्धी सचेतना देउडामार्फत सहज रूपमा समुदायसम्म पुग्छ। स्थानीय भाषा, भेषभूषा, परम्परा र मौलिक पहिचानलाई जोगाउने कार्यमा देउडाले अमूल्य योगदान दिएको छ। भविष्यमा देउडालाई अझ प्रभावकारी बनाउन सकिन्छ।
विद्यालय र विश्वविद्यालयको पाठ्यक्रममा देउडालाई समावेश गरेर स्थानीय ज्ञान, भाषा र संस्कृतिलाई औपचारिक शिक्षासँग जोड्न सकिन्छ । विद्यालय, कलेज र समुदायमा देउडा क्लब स्थापना गरी सचेतनामूलक गीत सिर्जना र प्रतियोगिता गर्न सकिन्छ। स्थानीय एफएम, टेलिभिजन र सामाजिक सञ्जालमार्फत देउडाका पद्यलाई आधुनिक सन्देशसँग जोडेर व्यापक चेतना फैलाउन सकिन्छ।
साथै, देउडालाई सांस्कृतिक पर्यटनसँग जोडेर आर्थिक, सामाजिक र शैक्षिक विकासमा प्रयोग गर्न सकिन्छ। देउडा गीत र गौरा पर्व केवल आस्था र मनोरञ्जनका उत्सव होइनन्, यी सुदूरपश्चिमका जीवित विद्यालय हुन्। यहाँ शिक्षा किताबमा मात्रै सीमित छैन, गीतमा बगेको छ; चेतना भाषणमा मात्र होइन, लयमा गुन्जिएको छ। जहाँ औपचारिक विद्यालय कमजोर छन्, त्यहाँ देउडाले सिकाउँछ, सचेत बनाउँछ र समुदायलाई जोड्छ।
देउडाको लय, पद्य र सन्देश जोगाएर यसलाई शिक्षासँग जोड्न सकियो भने, सुदूरपश्चिम मात्र होइन, सम्पूर्ण नेपालका समुदायहरूले ज्ञान, चेतना र सांस्कृतिक पहिचानको सशक्त साधन पाउनेछन्।





