जुम्ला । नेपाल पत्रकार महासंघ जिल्ला शाखा जुम्लाले यस वर्ष प्रदान गर्ने विभिन्न पत्रकारिता पुरस्कारका लागि नाम सार्वजनिक गरेको छ । युवा तथा खेलकुद पत्रकारिता पुरस्कारका लागि दुबो खबरका पत्रकार काली बहादुर परियार छनोट भएका छन् ।

महासंघले तोकेको म्यादभित्र प्राप्त आवेदकमध्ये मूल्याङ्कन गरेर परियारलाई यस वर्षको खेलकुद पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय भएको हो । पुरस्कारमा १० हजार रुपैयाँ नगद र सम्मानपत्र रहनेछ ।
त्यस्तै, महिला तथा समावेशी श्रेणीअन्तर्गतको गौरी पदम स्मृति क्रियाशील पुरस्कार रेडियो नारी आवाज जुम्लाकी स्टेशन म्यानेजर लक्ष्मी न्यौपाने लाई प्रदान गरिने भएको छ ।
यस्तै, कृषि तथा पर्यटन पत्रकारिता पुरस्कार का लागि राससका पत्रकार विजय रावत छनोट भएका छन् । यी दुवै पुरस्कारमा पनि १० हजार रुपैयाँ नगद र सम्मानपत्र प्रदान गरिने जनाएको छ ।
महासंघले पुरस्कार घोषणा गर्दै पत्रकारहरूको योगदानलाई सम्मानित गर्दै पत्रकारिताको क्षेत्रमा अझै प्रभावकारी भूमिका खेल्ने प्रेरणा दिने उद्देश्य रहेको जनाएको छ ।





