स्टकहोम (स्वीडेन),असोज २० । यस वर्षको चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार प्रतिरोध प्रणालीबारे महत्वपूर्ण खोज गर्ने तीन वैज्ञानिकलाई प्रदान गरिने भएको छ ।

संयुक्त राज्य अमेरिकाका मेरी ब्रन्को र फ्रेड र्याम्स्डेल तथा जापानका शिमोन साकागुची लाई २०२५ को नोबेल पुरस्कार दिने निर्णय सोमबार नोबेल पुरस्कार समितिले सार्वजनिक गरेको हो ।
समितिका अनुसार, उनीहरूले शरीरको प्रतिरोध प्रणालीमा रहेको विशेष प्रकारका ‘रेग्यलेटरी टी–सेल’ नामक कोषहरूको भूमिका पत्ता लगाएका हुन्। यी कोषहरूले शरीरलाई आफ्नै प्रतिरक्षा प्रणालीको आक्रमणबाट जोगाउने काम गर्छन ।
उपचार क्षेत्रमा नयाँ सम्भावना
नोबेल समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “तीनै वैज्ञानिकले गरेको खोजले आधुनिक चिकित्सा उपचारका विभिन्न प्रविधिहरूलाई नयाँ दिशा दिएको छ।”
उनीहरूले उजागर गरेका तथ्यहरूले स्व–प्रतिरक्षात्मक रोगको उपचार सजिलो बनाउने, क्यान्सर थेरापीलाई अझ प्रभावकारी बनाउन र ‘स्टेम सेल’ प्रत्यारोपणका बेला देखिने जटिलता घटाउन सहयोग पुर्याउने विश्वास गरिएको छ।
पुरस्कार र परम्परा
तीन विजेतालाई संयुक्त रूपमा १.१ करोड स्वीडिश क्रोनर (करिब ८ लाख ७० हजार पाउन्ड) बराबरको नगद पुरस्कार र पदक प्रदान गरिनेछ ।
नोबेल पुरस्कार हरेक वर्ष भौतिकशास्त्र, रसायनशास्त्र, चिकित्साशास्त्र, साहित्य र शान्ति गरी पाँच विधामा प्रदान गरिन्छ । सन् १९६८ मा स्वीडेनको केन्द्रीय बैंकले अर्थशास्त्रका लागि छुट्टै नोबेल पुरस्कारको स्थापना गरेको थियो ।
स्वीडिस आविष्कारक र व्यापारी अल्फ्रेड नोबेलले आफ्नै सम्पत्तिबाट स्थापना गरेको कोषबाट यो पुरस्कार सन् १९०१ देखि वितरण हुँदै आएको हो ।
नोबेल समितिका अनुसार, विगत १२ महिनामा “मानव जातिको सर्वोच्च हितका लागि योगदान पुर्याउने” व्यक्तिलाई यो प्रतिष्ठित पुरस्कार प्रदान गरिन्छ ।
रासस/एएफपी





