जुम्ला । चन्दननाथ नगरपालिका–३ ले दिपावली र छठ पर्वको अवसरमा खुला पुरुष फुटबल प्रतियोगिताको शुभारम्भ गरेको छ। सोमबार देखि सुरु भएको प्रतियोगिताको उद्घाटन नगरप्रमुख राजुसिंह कठायतले गरेका थिए ।

वडास्तरमा आयोजना गरिएको यस प्रतियोगितामा जुम्लाका ४४ वटा फुटबल क्लबहरूले सहभागिता जनाएका छन् । वडाध्यक्ष रतन खत्रीका अनुसार खेलकुदमार्फत युवाबीचको आपसी सम्बन्ध, एकता र उत्सवको भावना मजबुत बनाउन प्रतियोगिता आयोजना गरिएको हो ।
उद्घाटन खेलमा ढाँणथपला युवा क्लब र आयोजक टिमबीच प्रतिस्पर्धा भएको थियो, जसमा आयोजक टिमले ० विरुद्ध ४ गोलको जित दर्ता गर्यो । यस्तै दोस्रो खेलमा गुठिचौरको फोईकालिका एफसीले चन्दननाथ–१० बोहोरागाउँको सिद्धगुफा युवा क्लबलाई ० विरुद्ध ५ गोलले पराजित गर्दै विजयी भएकाे छ ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी र खेलप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। संयोजक राजबहादुर खत्रीका अनुसार विजेता टिमलाई १ लाख १ हजार रुपैयाँ, उपविजेता टिमलाई ५० हजार ५ सय रुपैयाँसहित मेडल र ट्रफी प्रदान गरिनेछ। प्रतियोगिता कार्तिक १६ गतेसम्म सञ्चालन हुने जनाएको छ ।





