काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो परिमाणमा लागुऔषध फेला परेको छ। प्रहरीले गाँजा जस्तो देखिने करिब ७ किलो २९५ ग्राम पदार्थसहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार पक्राउ परेकाहरू भारतका २५ वर्षीय हरगोबिन्द सिंह, १९ वर्षीय समिर, र २७ वर्षीय फिरोज अहमद सम्पद हुन्।
शुक्रबार दिउँसो विमानस्थलको भन्सार क्षेत्रबाट पक्राउ परेका ती तीनै जनालाई प्रहरीले शनिबार सार्वजनिक गरेको हो।
प्रहरीका अनुसार एयर एसियाको उडानमार्फत बैंककबाट काठमाडौँ आएका हरगोबिन्द र समिरको साथबाट ३ किलो ५४० ग्राम, र इन्डिगो एयरको मुम्बई–काठमाडौँ उडानबाट आएका सम्पदको साथबाट ३ किलो ६५५ ग्राम लागुऔषध जस्तो पदार्थ बरामद गरिएको हो।
प्रहरीले उनीहरूलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्यूरो (NCB) मा पठाएको जनाएको छ।





