जुम्ला । गुठिचौर गाउँपालिका–१ मा सुरु भएको खुला पुरुष भलिबल प्रतियोगिताको आइतबार भव्य उद्घाटन भएको छ । उद्घाटन कार्यक्रम गुठिचौर गाउँपालिकाका अध्यक्ष दान बहादुर बुढाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

प्रतियोगितामा जुम्ला, दैलेख, कालिकोट, जाजरकोट र डोल्पाका गरी कुल १३ टिमले प्रतिस्पर्धा गर्दै छन्। उद्घाटन खेलमा भगवती युवा क्लब बारेकोट र बारेकोट–४ जिरीबीच प्रतिस्पर्धा भएको थियो ।
विजेता टिमलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित मेडल र प्रमाणपत्र, उपविजेतालाई ७१ हजार १ सय ११ रुपैयाँ, मेडल र प्रमाणपत्र, र तृतीय हुने टिमलाई ३७ हजार १ सय ११ रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
उद्घाटन समारोहमा बोल्दै अध्यक्ष बुढाले खेलकुद राष्ट्रको पहिचानसँगै युवाको स्वास्थ्य, अनुशासन र एकतालाई सुदृढ बनाउने माध्यम भएको बताए । उनले गाउँस्तरमा यस्ता प्रतियोगिताले प्रतिभा उजागर गर्न मद्दत गर्ने विश्वास पनि व्यक्त गरे ।





