जुम्ला । सिँजा गाउँपालिका जुम्लाको प्रशासकीय भवन निर्माण कार्य ढिलाइ भए पछि गाउँपालिकाले ठेकेदारलाई थप म्याद दिएको छ । करिब साढे तीन करोड रुपैयाँ लागतमा निर्माण भइरहेको उक्त भवन २०७८ सालमा सार्वजनिक खरिद प्रक्रियाबाट ठेक्का सम्झौता गरिएको थियो । तर तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न नभएपछि गाउँपालिकाले पटक–पटक म्याद थप्दै आएको छ ।

२०७९ चैत १३ गतेका दिन सार्वजनिक खरिद ऐन २०६३ र नियमावली २०६४ अनुसार मिति २०८१ असाेज ३० सम्म करिब साढे १६ महिनाको समयावधिमा भवनको निर्माण कार्य सम्पन्न गर्ने गरी भ्याट सहित ४ कराेड ५ लाख ८० हजार ८ सय २७ रूपैयाँ ६ पैशामा गाउँपालिका कार्यालय र विजयी आर. एन. वि. जे.भि. शंखमुल ललितपुर सँग दोहोरो सम्झौता भई मिति २०७९ चैत १५ गते कार्यादेश दिएको थियाे ।
सार्वजनिक खरिद ऐन, २०६३ संशोधन सहित र नियमावली, २०६४ संशोधन सहित २०८० बैशाख २० मा प्राविधिक शाखाको राय सहित ३६ लाख एपिजे अनुसारको पेश्की दिएको हो । २०८१ फागुन १६ मा भ्याट सहित ५० लाख १६ हजार ४३ रूपैयाँ २८ पेशाको पहिलो रनिङ विल भुक्तानी गरिएको गाउँपालिकाले जनाएको छ ।
ठेकेदारले पहिलो सम्झौता मिति अर्थात २०८१ असाेज ३० सम्म निर्माण कार्य सम्पन्न गर्न नसकी २०८१ असाेज १५ मा गाउँपालिकालाई निवेदन पेश गरी थप ६ महिनाको म्याद थप माग भएको हो सो सम्बन्धमा २०८१ असाेज १७ गतेको गाउँ कार्यपालिकाको निर्णय अनुसार २०८१ चैत ३० गते सम्म निर्माण कार्य सम्पन्न गर्ने गरी ( Performanance Guarantee ) समावेश सहित म्याद थप गरि कार्यादेश दिइएको थियाे ।
पुन २०८१ असाेज १५ गतेको निवेदन अनुसार २०८१ असाेज १८ गते दोश्रो रनिङ विल अनुसार भ्याट सहित एपिजे कटाई ५० लाख ५० हजार १ सय ४ रूपैयाँ ९३ पैशा भुक्तानी भएको छ । पुनः तेस्रो रनिङ बिल अनुसार २०८१ पुस ९ गते भ्याट सहित ९४ लाख ६४ हजार २ सय ९४रूपैयाँ गरी हाल सम्म जम्मा २ कराेड ३ लाख ९० हजार ४ सय ४१ रूपैयाँ भुक्तानी भएको गाउँपालिकाेकाे भनाइ छ ।
विविध कारणले निर्माण कार्य सम्पन्न गर्न नसकी तेस्रो पटक ठेकेदारले २०८२ असार ९ गतेमा म्याद थप सम्बन्धी निवेदन पेश गरि २०८२ असार १४ गतेको गाउँ कार्यपालिकाको निर्णय अनुसार सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ चौधौ संशोधन सहितको नियम १२० ( क ) बमोजिम थप आर्थिक दायित्व नरहने गरी २०८२ मंसिर ३० गते सम्म निर्माण कार्य सम्पन्न गर्ने गरि २०८२ असार १५ गतेमा म्याद थप गरि कार्य सम्पन्न गर्न गनउँपालिकाले निर्देशन दिएकाे प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर शाहीले जानकारी दिए ।
प्रमुख प्रशासकीय अधिकृत शाहीका अनुसार, बारम्बार ठेकेदार सँग सम्पर्क गर्न खाेज्दा सम्पर्कमा नआएको बताए । उनले भने, अब पालिकाले मंसिर मसान्तसम्म समयसिमा ताेकेकाे छ, याे समय सम्म सम्पर्कमा नआए ठेक्का सम्झौता रद्ध गरि पुनः टेन्डर गरिने बताए ।
यस्तै निर्माण कम्पनीका प्रतिनिधि सुरेन्द्र महतका अनुसार, बजेट अभावका कारण काम रोकिएको दाबी गरेका छन् । उनका अनुसार, भवनको ७० प्रतिशत काम भइसकेको छ र हाल सम्म ४० प्रतिशत मात्र भुक्तानी भएको उनले जानकारी दिए । उनले भने, गाउँपालिकाले बजेट उपलब्ध गराए काम छिट्टै सम्पन्न गर्न सकिन्छ ।
अहिले सिंजा गाउँपालिकाले मंसिर मसान्त नजिकिँदै गर्दा दोस्रो म्याद पनि सकिन लाग्दा भवनको काम सम्पन्न हुने सम्भावना न्यून देखिएको बताएको छ । संघीय र स्थानीय दुवै निकायबीच समन्वय गरी शीघ्र बजेट व्यवस्थापन र ठेकेदार कम्पनीलाई स्पष्ट समयसीमा तोकेर जिम्मेवारी हुन ध्यानाकर्षण गरेकाे छ ।
सिँजा गाउँपालिकाले ठेकेदारलाई पटक–पटक समय थप्दै गर्दा निर्माण गुणस्तरमा पनि ध्यान दिन निर्देशन दिएको छ । गाउँपालिकाका अनुसार, भवन निर्माणमा गुणस्तर मापदण्ड पालना नगरे कार्य रोक्ने चेतावनी पनि दिइएको छ ।





