जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको जनस्वास्थ्य महाविद्यालयका विद्यार्थीहरूले जुम्लाको अशोक नमूना आधारभूत विद्यालयमा विद्यालय स्वास्थ्य कार्यक्रम सञ्चालन गरेका छन । यस कार्यक्रमले विद्यालय तहका बालबालिकामा व्यक्तिगत सरसफाइ, पोषण र स्वास्थ्यबारे व्यवहारिक सिकाइका माध्यमबाट चेतना जगाएको छ ।
कार्यक्रमको उद्देश्य विद्यार्थीको शारीरिक, मानसिक, सामाजिक र भावनात्मक स्वास्थ्यको संरक्षण तथा प्रवर्द्धन गर्नु रहेको छ ।
विद्यार्थीहरूलाई दाँत ब्रस गर्ने तरिका, साबुनपानीले हात धुने अभ्यास, महिनावारीका बेला खानपान र व्यक्तिगत स्वच्छता सम्बन्धी ज्ञान प्रदान गरिएको जनाइएको छ ।

जनस्वास्थ्य महाविद्यालयले मानवता सस्था र नबिल फाउन्डेसन (क्यानडा) को सहकार्यमा कार्यक्रम सञ्चालन गरेको हो ।
विद्यालयहरूमा स्वच्छ खानेपानी, सरसफाइ, शौचालय सुधार र पोषण सम्बन्धी कार्यक्रम पनि सञ्चालन भइरहेका छन, जसले विद्यालय परिसरमा स्थायी परिवर्तन ल्याइरहेको छ । अब धेरै विद्यालयमा स्वच्छ धारा, सफा शौचालय र विद्यार्थीमैत्री सरसफाइ संस्कृतिको विकास भएको छ ।
कार्यक्रमका क्रममा विद्यार्थीहरूले व्यवहारिक अभ्यासका रूपमा दाँत मर्जन, हात धुने र विद्यालय सफा राख्ने बानी अंगालेका छन ।
“पहिले सरसफाइको अर्थ नबुझ्ने बालबालिका अहिले साबुनले हात धुनु आफ्नो दैनिकी बनाएका छन ।” कार्यक्रमका प्रमुख प्रशिक्षक तथा सहायक प्राध्यापक ओमप्रकाश काफ्लेले बताए ।
उनका अनुसार विद्यालय स्वास्थ्य कार्यक्रमले विद्यार्थीमा सन्तुलित आहार, स्वच्छता र सकारात्मक सोच विकास गर्न मद्दत पुर्याएको छ ।
विद्यालय स्वास्थ्य कार्यक्रम केवल विद्यार्थीका लागि सीमित छैन । यसले शिक्षक, अभिभावक र समुदायमा समेत स्वास्थ्य चेतना फैलाउने कार्य गरिरहेको छ ।
शिक्षकहरूलाई विद्यालयमै स्वास्थ्य शिक्षा समावेश गर्ने तालिम दिइन्छ भने अभिभावकलाई पनि सरसफाइ र पोषणबारे अभिमुखीकरण गरिन्छ ।
प्राध्यापक काफ्लेका अनुसार, जनस्वास्थ्य महाविद्यालयको टोलीले प्रत्येक वर्ष जुम्लाका दुई देखि तीन विद्यालय छनोट गरी यस्ता कार्यक्रम सञ्चालन गर्छ । यस क्रममा शिक्षक प्रशिक्षण, विद्यार्थी बिच जनचेतना सत्र र सरसफाइ अभियान सञ्चालन गरिन्छ ।
कार्यक्रममा विद्यार्थीहरूको नाक, कान, घाँटी, आँखा र दाँत परीक्षण गरी स्वास्थ्य स्थिति मूल्यांकन गरिन्छ । चिकित्सक र स्वास्थ्यकर्मीले आवश्यक सल्लाह र उपचार सिफारिस पनि गर्छन । जनस्वास्थ्य महाविद्यालयका प्राध्यापक डा. सेसानन्द सञ्जेलका अनुसार,“विद्यालय स्वास्थ्य कार्यक्रम केवल एउटा परियोजना होइन, यो समाज रूपान्तरणको शैक्षिक क्रान्ति हो । हामी स्वास्थ्यलाई कक्षाकोठा सँग जोड्दैछौं।”
उनका अनुसार बाल्यकालमै स्वास्थ्य चेतना सिकाइएमा भविष्यको पुस्ता स्वस्थ, अनुशासित र उत्पादक नागरिक बन्न सक्छ ।
आगामी चरणमा यो कार्यक्रम तातोपानी गाउँपालिकाका विद्यालयहरूमा विस्तार गर्ने तयारी भइरहेको छ ।
यसले अझ धेरै विद्यार्थीलाई स्वास्थ्य परीक्षण र चेतनामूलक कक्षा अनुभव गर्ने अवसर उपलब्ध गराउनेछ ।
विद्यालय स्वास्थ्य कार्यक्रमले विद्यालय देखि समुदायसम्म स्वास्थ्य र सरसफाइको संस्कृति फैलाउँदै जुम्लालाई स्वास्थ्यमूलक अभ्यासको उदाहरणीय केन्द्र बनाउँदै लगेको छ ।





