जुम्ला । जुम्ला जिल्लाका ढाटथपला गाउँका समाजसेवी तथा बुद्धिजीवी श्री विष्णु बुढ्थापाको सहजीकरणमा गत बिहीबार देखि दुई दिन सम्म विभिन्न गाउँपालिकामा रहेका गरिब तथा विपन्न बालबालिकाहरूलाई विद्यालयका झोला र स्टेशनरी सामग्री वितरण गरिएको छ ।

बुढ्थापाले विभिन्न सङ्घ–संस्था सँगको सहकार्यमा ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई निरन्तर सहयोग गर्दै आएका छन । हाल उहाँ काठमाडौंमा बसोबास गर्दै सामाजिक तथा परोपकारी कार्यमा सक्रिय हुनुहुन्छ ।
यस अभियान अन्तर्गत तातोपानी गाउँपालिका – १ राका गाउँमा १०० जना बालबालिकालाई विद्यालय झोला वितरण गरिएको छ । उक्त कार्यक्रम गाउँपालिकाका सदस्य जलुकी सार्कीको प्रमुख आतिथ्यतामा र सुसमाचार मण्डलीको आयोजनामा सम्पन्न भएको हो ।
त्यसैगरी तातोपानी गाउँपालिका – २ जर्मी गाउँ स्थित श्री भवानी आधारभूत विद्यालयका २६ विद्यार्थीलाई पनि विद्यालय झोला प्रदान गरिएको थियो ।
पातारासी गाउँपालिका – १ पेरे गाउँमा १० जना गरिब विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गर्नुका साथै विद्यार्थीहरूको अध्ययनमा सहयोग पुर्याउन खेलकुद सामग्री, कथा तथा चित्रकलाका पुस्तकहरू पनि वितरण गरिएको छ । साथै, सोही अवसरमा ‘आशाको केन्द्र’ नामक ट्युसन कक्षा सुरु गरिएको छ, जसको सञ्चालन मिस बिपना न्यौपानेले गर्नेछिन ।
त्सैसै गरी गुठिचौर गाउँपालिका – १ चोत्रा गाउँ स्थित हिमाली रम्बा आधारभूत आवासीय विद्यालयका २६ जना गरिब तथा अनाथ विद्यार्थीहरूलाई पनि शुक्रबार शैक्षिक सामग्री वितरण गरिएको थियो ।
बुढ्थापाको भनाइ अनुसार, “शिक्षा नै दिगो विकासको आधार हो, त्यसैले ग्रामीण क्षेत्रमा रहेका विद्यार्थीहरूलाई सानोतिनो सहयोगले पनि ठूलो परिवर्तन ल्याउन सक्छ।”
तस्बिर सरोज शाही






