जुम्ला । हिमा गाउँपालिकामा हालैका विकास निर्माण तथा बजेट खर्च सम्बन्धी विभिन्न अनियमितता, विवाद र अस्पष्टतामाथि छानबिन गर्नुपर्ने भन्दै सार्वजनिक सुनुवाइ कार्यक्रम स्थगित गर्न हिमा सचेत युवा समूहले औपचारिक माग गरेका छन ।

समूहले गाउँपालिकामा २०७८/७९ देखि २०८०/८१ आर्थिक वर्षसम्मका योजनामा देखिएका अनियमितता, प्राविधिक कमजोरी, जथाभावी भुक्तानी र सार्वजनिक स्रोत–साधनको दुरुपयोगका विषयमा निरन्तर उठ्दै आएको जनगुनासोका आधारमा सुनुवाइ कार्यक्रम स्थगित गरेर पहिले छानबिन टुंग्याउनुपर्ने मागसहित पत्र सार्वजनिक गरेको छ ।
उनीहरूले गाउँपालिकाले हालै गरेको निरीक्षण, अनुगमन तथा रिपोर्टिङ प्रक्रियामा समेत गम्भीर त्रुटि रहेको भन्दै प्रारम्भिक तथ्य फेला परेपछि सुनुवाइ गर्ने वातावरण नै विश्वास योग्य नरहेको तर्क गरेका छन ।
समूह द्वारा बुझाइएका माग, गाउँपालिकाले निर्माणस्थल अनुगमन, भौतिक प्रगति मूल्यांकन, प्राविधिक जाँच पास तथा अघिल्ला वर्षका योजनामा देखिएका समस्या समाधान नगरी सार्वजनिक सुनुवाइ गर्न खोज्नु जनताको भरोसा माथि प्रहार हुने बताइएकाे छ ।
पत्रमा छानबिन समितिले अघि सारेका कमजोरीहरू सार्वजनिक गरी दोषीमाथि कारबाही तथा पारदर्शिता कायम भएको अवस्थामा मात्र सार्वजनिक सुनुवाइ गर्नुपर्ने समूहको माग उल्लेख छ ।
यद्यपि हिजो मात्रै सचेत युवा र पालिका बिच छलफल भएको थियो । निर्धारित समयमा नै गाउँ पालिकाले सार्वजनिक सुनुवाइ गर्ने भएको छ ।





