जुम्ला । हिमा गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। आईतबार सम्पन्न सुनुवाइ कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले भौतिक तथा वित्तीय प्रगतिको विस्तृत प्रस्तुतिकरण साझा गरेका थिए ।

गत आर्थिक वर्षमा विकास निर्माण, कृषि, पर्यटन, खानेपानी, सिँचाइ, विद्यालय, सडक तथा भवनलगायतका कुल ६१ वटा योजना तथा कार्यक्रम सम्पन्न गरिएको छ।
ती योजना कार्यान्वयनमा ७ करोड २१ लाख ७ हजार ४६३ रुपैयाँ खर्च भएको बुढाले जानकारी दिए ।
कुल ८ करोड ८१ लाख ४९ हजार रुपैयाँ विनियोजन गरिएकोमा करीब एक करोड रुपैयाँ फ्रिज भएको उल्लेख छ ।
संघीय ससर्त चालु अनुदानबाट १ करोड ५६ लाख ५१ हजार बराबरका कृषि, सिँचाइ र स्वास्थ्यसम्बन्धी धेरै कार्यक्रम सम्पन्न गरिएको छ।
त्यस्तै पुँजिगत तर्फ १ करोड ६३ लाखका पाँच वटा ठूला संरचना–विद्यालय भवन, सुरक्षित नागरिक आवास, गोरुखोला सडकसहितका पूर्वाधार निर्माण भएका छन ।
संघीय विशेष अनुदानबाट ८५ लाख लागतमा कालिका मावि तल्लीकुडुको भवन निर्माण गरिएको छ ।
संघीय राजस्व बाँडफाँडअन्तर्गत मात्र ७ करोड ७० लाख खर्चेर ३४ वटा कार्यक्रम सम्पन्न भएका छन ।
प्रदेश ससर्त चालु अनुदानबाट १ करोड ६७ लाख बराबरका ६ योजना,
र पुँजिगत अनुदानबाट २ करोड १३ लाख लागतका १३ योजना सम्पन्न भएका छन्।
प्रदेश समपूरक अनुदानबाट १ करोड २० लाखमा कैलाश माविको भवन निर्माण र टाङ्गेडी–छडिघट्ट–बालु सडक तथा सिँचाइ कुलो निर्माण गरिएको प्रगतिविवरणमा उल्लेख छ ।
गाउँपालिकाले गत वर्ष २६ लाखभन्दा बढी आन्तरिक राजस्व संकलन गरेको पनि जानकारी गराइएको छ।
समग्रमा हिमा गाउँपालिकामा ३८ करोड ९३ लाख ५१ हजार २१५ रुपैयाँ विनियोजन भएको थियो ।
खर्चको स्थिति : पुँजिगत ७०%, चालु ९३%
पुँजिगत विनियोजन: ११ करोड ७७ लाख ५० हजार
खर्च: ८ करोड २५ लाख ८८ हजार ८३९ (७०.१३%)
चालु विनियोजन: २७ करोड १६ लाख
खर्च: २५ करोड ३२ लाख ६४ हजार (९३.२४%)
गाउँपालिका उपाध्यक्ष लक्ष्मणबहादुर शाहीले स्वास्थ्य, शिक्षा, पूर्वाधार, खानेपानी लगायतका क्षेत्रमा प्राप्त उपलब्धि साझा गर्दै प्रशासकीय भवन निर्माण प्रक्रिया सुरु, तेस्रो पढाइ मेला, बालविवाहमुक्त घोषणा, बृहत्त सरसफाइ (वास) सम्मेलन तथा पाथरखोला–ओदि सामूहिक बगैचाजस्ता गतिविधि सफलतापूर्वक सम्पन्न भएको बताए ।
तीन वर्षको अवधिमा हिमा गाउँपालिकाका ८० प्रतिशत घरधुरीमा ‘एक घर–एक धारा’ जडान गरिएको उल्लेख गर्दै खानेपानी विकासले जिल्लामा उल्लेखनीय फड्को मारेको उनले बताए ।
कार्यक्रमका प्रमुख अतिथि दीपबहादुर शाहीले हिमा गाउँपालिकाले खानेपानी क्षेत्रमा पुर्याएका उपलब्धिको प्रशंसा गर्दै नागरिकका सुझावअनुसार विकास निर्माण तथा सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउन आग्रह गरे।
उपाध्यक्ष सुर्यपना शाहीले सार्वजनिक सुनुवाइमा उपस्थित सबैप्रति आभार व्यक्त गरिन ।
सार्वजनिक सुनुवाइ कार्यक्रम हिमा गाउँपालिकाको आयोजना र गिडिदह मिडिया प्रा.लि.को सहजीकरणमा सम्पन्न भएको हो । कार्यक्रममा स्थानीयवासीको उल्लेखनीय उपस्थिति थियो ।





