जुम्ला । राष्ट्रिय कर दिवसको अवसरमा जुम्लाका युवा तथा सफल व्यवसायी देउऋषि चौलागाँई सहित कर्णालीका तीन उत्कृष्ट करदातालाई सम्मान गरिएको छ। कर योगदान मार्फत स्थानीय तथा राष्ट्रिय अर्थतन्त्र मजबुत बनाउन गरेको योगदानका लागि उनीहरूलाई उत्कृष्ट करदाता सम्मान प्रदान गरिएको हो ।

चौधौं राष्ट्रिय कर दिवस–२०८२ को अवसरमा आइतबार जुम्लामा आयोजित विशेष समारोहका बीच जिल्ला न्यायाधीश आनन्दराज पन्तले सम्मान हस्तान्तरण गरेका हुन् ।
सम्मानित हुनेमध्ये जुम्लाका कैलाश जनरल स्टोरका सञ्चालक देउऋषि चौलागाँई, कालिकोटको हिमालचुली कृषि सहकारी संस्था र मुगुको रविचक्र बिफोर जेभी रहेका छन् ।
आन्तरिक राजस्व कार्यालय जुम्लाका प्रमुख प्रभात घिमिरेका अनुसार आर्थिक वर्ष २०८०/८१ मा जुम्ला, मुगु र कालिकोटका करदातामध्ये आयकर तिर्ने क्रममा उत्कृष्टता देखाएका तीन संस्थालाई छनोट गरी सम्मान गरिएको हो ।
राजस्व व्यवस्थापनमा योगदान पुर्याउँदै उदाहरणीय करदाता बनेकाले उनीहरूलाई होसला एवं प्रेरणाका रूपमा सम्मान गरिएकाे घिमिरेले बताए ।
जुम्लाका देउऋषि चौलागाँई, जसले शून्यबाट व्यवसाय सुरू गरी आज क्षेत्रीय बजारमा आफ्नो पहिचान बनाउन सफल भएका छन् ।
सम्मानित हुँदा खुसी व्यक्त गरे। “राज्यले निजी क्षेत्रलाई अझ प्रोत्साहन गर्ने गरी विशेष प्याकेज र सहज कर नीति ल्याए व्यवसाय अझ अघि बढ्न सक्छ, चौलागाँईले प्रतिक्रिया दिए ।
कर दिवसका अवसरमा बोल्ने वक्ताहरुले राजस्वले नै राष्ट्रलाई समृद्धितर्फ लैजाने बताउँदै कर प्रणालीलाई पारदर्शी, सरल र करदातामैत्री बनाउँदै लग्नुपर्ने सुझाव राखे ।
कर्णालीका तीन उत्कृष्ट करदाताको सम्मानले आगामी दिनमा अन्य व्यवसायीलाई पनि कानुनी दायित्वपालन र कर तिर्ने संस्कृतिलाई मजबुत बनाउन प्रेरणा दिने विश्वास व्यक्त गरिएको छ।





