जुम्ला । जुम्लाको हिमा गाउँपालिकामा शिक्षाको ज्योति बाल्ने एक प्रयासलाई स्थानीय सरकारले आफ्नो प्राथमिकतामा राखेको छ । सोमबार मात्र गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर शाहीको नेतृत्वमा एक विशेष टोलीले ओदी गाउँको नेत्रज्योति माध्यमिक प्राविधिक विद्यालयको अनुगमन गरेकाे छ । यो पहलले दुर्गमताको बाधालाई पन्छाउँदै शिक्षा प्रति स्थानीय सरकारको गम्भीर प्रतिबद्धताको सशक्त सन्देश दिएको छ ।

भौगोलिक चुनौती बीच पनि प्राविधिक शिक्षा प्रदान गर्ने यसलाई नजिकबाट हेर्न, कार्यप्रणाली मुल्याङ्कन गर्न र आवश्यक सुधारका लागि सीधा सुझाव लिन यो टोली विद्यालय पुगेको थियो । अध्यक्ष शाहीको यो कार्यले केवल निरीक्षण मात्र होइन, एक प्रत्यक्ष समर्थन र सहकार्यको भूमिका निर्वाह गरेको छ ।
टोलीले कक्षाकोठाको सञ्चालन, छात्र,छात्रा शिक्षक अनुपात, प्रयोगशाला , कम्प्युटर कक्षा र पुस्तकालय जस्ता भौतिक पूर्वाधार, र स्वच्छता जस्ता सेवा सुविधाको गहनिरूपका साथ मुल्याङ्कन गरेकाे छ ।
विद्यार्थी र शिक्षकहरू सँग सिधा छलफल गरी उनीहरूको समस्या र आवश्यकता सम्बन्धी जानकारी समेत सङ्कलन गरिएकाे अध्यक्ष लक्ष्मण बहादुर शाहीले जानकारी दिए ।
उनका अनुसार यसबाट प्राप्त तथ्यांक र विचारले विद्यालयको शैक्षिक गुणस्तर तथा सेवा सुविधा उन्नती करणमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको बताए । यसले गाउँपालिकाको शिक्षा विकास रणनीतिमा नयाँ गति र ऊर्जा संचार गरेको उनकाे भनाइ छ ।
‘शिक्षा नै भविष्यको आधार’ भन्ने मूलमन्त्रलाई कार्यरूपमा परिणत गर्दै हिमा गाउँपालिकाले स्थानीय विद्यालयहरूको निरन्तर अनुगमन र सक्षमीकरण गर्ने आफ्नो दृढ संकल्प गरेकाे छ। दुर्गम भूभागमा पनि गुणस्तरीय शिक्षा पहुँचका लागि यो कदम एक उल्लेखनीय र प्रेरणादायी सुरुवात हो । यसरी स्थानीय सरकारले नेतृत्व गरेको यो पहलले अब ओदीका विद्यार्थीहरूको भविष्य उज्यालो बनाउने तथा क्षेत्रिय विकासको नयाँ मार्ग सुनिश्चित गर्ने विश्वास जनाएको छ ।





