जुम्ला । तातोपानी गाउँपालिकामा पछिल्ला वर्षहरूमा बेरुजु नियन्त्रण र न्यूनिकरणतर्फ उल्लेखनीय प्रगति देखिएको छ । २०७४ सालमा निर्वाचित जनप्रतिनिधिको पाँच वर्षे कार्यकालमा पालिकामा कुल १९ करोड रुपैयाँ बेरुजु कायम रहेकोमा २०७९ को निर्वाचनपछि आएका जनप्रतिनिधिको साढे तीन वर्षको अवधिमा बेरुजु घटेर ५ करोड रुपैयाँभन्दा केही बढी मात्र कायम रहनुले स्थानीय तहमा वित्तीय अनुशासन र सुशासनको प्रयासलाई संकेत गरेको छ ।

पालिकाका जिम्मेवार अधिकारीहरूका अनुसार पछिल्ला वर्षहरूमा असुल उपर गर्नुपर्ने बेरुजु भन्दा सैद्धान्तिक, नियमित तथा कागजात नपुगेका बेरुजुको हिस्सा बढी देखिएको छ । यसको अर्थ धेरैजसो बेरुजु रकम दुरुपयोग भन्दा पनि प्रक्रियागत कमजोरी, कागजात अभाव र नियमितीकरण नहुनुका कारण कायम भएको जनाइएको छ । यद्यपि हाल सम्म ४२ लाख रुपैयाँ बेरुजु सफलतापूर्वक असुल उपर भइसकेको पनि पालिकाले जनाएको छ ।
हिउँदे गाउँ सभा पछि बेरुजु सम्परीक्षणमा व्यापक परिचालन
पालिकाले हिउँदे गाउँ सभा सम्पन्न भए पछि बेरुजु सम्परीक्षणलाई तीव्रता दिने तयारी गरेको छ । यसका लागि सबै शाखा तथा कार्यालयका कर्मचारी परिचालन गरिने र बेरुजुको विस्तृत समीक्षा गरिनेछ । समीक्षा पश्चात असुल उपरमा ढिलाइ गर्ने, आवश्यक कागजात नबुझाउने तथा बेरुजु नियमित नगर्ने सेवाग्राही, व्यक्ति तथा फर्महरूलाई औपचारिक रूपमा पत्राचार गरिने योजना छ ।
पालिकाका अनुसार पत्राचार पछि पनि अटेरी गर्नेहरूलाई अन्तिम चेतावनी दिइनेछ र त्यसपश्चात सिधै कालोसूचीमा राखी कुनै पनि प्रकारको सेवा उपभोग गर्न नपाउने गरी कडा कारबाही गरिनेछ । यसलाई पालिकाले बेरुजु न्यूनिकरणतर्फको “तातोपानी मोडेल” का रूपमा अघि बढाउन खोजेको जनाएको छ।
आठ वर्षमा २७ करोडभन्दा बढी बेरुजु, समितिनै गठन गरेर काम
सार्वजनिक लेखा समितिका संयोजक रत्नचन्द्र उपाध्यायका अनुसार आर्थिक वर्ष २०७४/०७५ देखि २०८१/०८२ सम्मको आठ वर्षको अवधिमा तातोपानी गाउँपालिकामा कुल २७ करोड ३४ लाख ८० हजार रुपैयाँ बेरुजु रहेको छ । यो अवधिमा विभिन्न शीर्षकमा बेरुजु थपिँदै आए पनि पछिल्ला वर्षहरूमा भने घट्दो क्रममा रहेको उनले बताए ।
बेरुजु नियन्त्रणका लागि पालिकाले विशेष समिति गठन गरी योजनाबद्ध रूपमा काम गरिरहेको र त्यसको सकारात्मक परिणाम देखिन थालेको उपाध्यायले दाबी गरे । उनका अनुसार गत आर्थिक वर्षमा बेरुजु घटाउने मामिलामा तातोपानी प्रदेशकै पहिलो पालिका बन्न सफल भएको थियो ।
“समृद्धिको बाटोमा बेरुजु मुख्य चुनौती”
संयोजक उपाध्यायले बेरुजुलाई तातोपानी गाउँपालिकाको समृद्धिको यात्रामा देखिएको मुख्य चुनौतीका रूपमा औंल्याए।
उनले भने,
“समृद्धिको बाटोमा लम्किरहेको तातोपानीका लागि सबैभन्दा ठूलो चुनौती बेरुजु हो। तर हामी यसलाई हल्का रूपमा लिँदैनौँ। कडा निर्णय र कडाइका साथ अघि बढिरहेका छौँ। सार्वजनिक लेखा समितिले पनि कुनै दबाब नलिई काम गरिरहेको छ। यस अभियानमा जनप्रतिनिधि, कर्मचारी र नागरिक सबैको साथ आवश्यक छ।”
पारदर्शिता र उत्तरदायित्वमा जोड
पालिकाले आगामी दिनमा बेरुजु न्यूनिकरणका लागि पारदर्शिता, उत्तरदायित्व र कानुनी पालनालाई उच्च प्राथमिकतामा राख्ने जनाएको छ। नियमित आन्तरिक लेखापरीक्षण, समयमै कागजात व्यवस्थापन, अनुगमनको प्रभावकारिता र सेवाग्राहीको जिम्मेवारी सुनिश्चित गरिने पालिकाको भनाइ छ ।
स्थानीय तहमा सुशासन र वित्तीय अनुशासन कायम गर्न थालेका यी प्रयासहरूले तातोपानी गाउँपालिकालाई बेरुजु घटाउँदै समृद्धिको बाटोमा अघि बढ्ने पालिकाका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।





