जुम्ला । इलाका प्रशासन कार्यालय सिंजा नराकोटले मंसिर महिनामा सम्पादन गरेका प्रमुख सेवा कार्यहरूको विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार नागरिकता, राष्ट्रिय परिचयपत्र, अभिलेख कायम लगायत नियमित सेवामा उल्लेख्य सेवाग्राहीहरूले सेवा लिएका छन् ।

दुर्गम क्षेत्रका नागरिकलाई घर आँगनमै सेवा दिने उद्देश्यले प्रशासनले सक्रियता बढाएको देखिन्छ । मंसिर महिनामा नयाँ नागरिकता वितरण तर्फ ९३ जनाले सेवा लिएका छन् ।
तीमध्ये ५४ महिला र ३९ पुरुष रहेका छन् । यसले नागरिकतामा महिलाको पहुँच क्रमशः बढ्दै गएको संकेत रहेकाे छ । त्यस्तै, प्रतिलिपि नागरिकता सेवाबाट ७५ जना लाभान्वित भएका छन्, जसमा ३० महिला र ४५ पुरुष रहेका छन् ।
अभिलेख कायम सेवा अन्तर्गत १२ जनाको काम सम्पन्न गरिएको छ । यसमा ४ महिला र ८ पुरुष छन् । यस्तै, नाबालक प्रमाणपत्र सेवामा भने मंसिर महिनामा कुनै पनि सेवा लिने नदेखिएको इलाका प्रशासन कार्यालय नराकाेटका का.मु सुरत गिरीले जानकारी दिए ।
उनका अनुसार, सबैभन्दा धेरै सेवा ग्राही राष्ट्रिय परिचयपत्र दर्ता सेवामा देखिएकाे बताए । मंसिर महिनामा मात्रै २ सय ४७ जनाले राष्ट्रिय परिचयपत्र दर्ता गराएकाे गिरिकाे भनाइ छ । तीमध्ये १ सय १६ महिला र १ सय ३१ पुरुष रहेकाे उनकाे भनाइ छ ।
का.मु गिरिले भने, पछिल्लो समय सरकारी सेवा, सामाजिक सुरक्षा भत्ता, बैंकिङ सेवा तथा विभिन्न पहिचान प्रक्रियामा राष्ट्रिय परिचयपत्र अनिवार्य बन्दै गएपछि सेवाग्राहीको चाप बढेको छ ।
गिरिका अनुसार, विभिन्न किसिमका सिफारिस सेवामा पनि नागरिकको चासो देखिएको छ । आदिवासी/जनजाति सिफारिस ४, दलित सिफारिस ३, खास आर्य सिफारिस ५ र विविध सिफारिस ६ वटा जारी गरिएको विवरणमा उल्लेख रहेकाे जानकारी दिए ।
यी सिफारिसहरू शिक्षा, रोजगारी, सामाजिक सुरक्षा र अन्य प्रशासनिक प्रयोजनका लागि आवश्यक पर्ने गर्दछन् ।
इलाका प्रशासन कार्यालय नराकोटका का.मु गिरिका अनुसार सीमित स्रोत साधनका बाबजुद सेवाग्राहीलाई छिटो, सरल र पारदर्शी सेवा दिने प्रयास भइरहेको बताए ।
स्थानीयवासीले पनि पछिल्लो समय इलाका प्रशासन कार्यालय नराकाेटको सेवा प्रभावकारी बन्दै गएको प्रतिक्रिया दिएका छन् । नियमित सेवा तथ्यांक सार्वजनिक गरिनु प्रशासनिक पारदर्शिताको सकारात्मक अभ्यास भएको भन्दै स्थानीय नागरिकले निरन्तरताको अपेक्षा गरेका छन् ।





