हुम्ला । एकपछि अर्को गरी घटिरहेका आगलागीका घटनाले कर्णाली क्षेत्र शोकमा डुबेको छ । हुम्ला जिल्ला सर्केगाड गाउँ पालिका रिप क्षेत्रमा हिजो भएको आगलागीको घटना सेलाउन नपाउँदै आज फेरि खार्पुनाथ गाउँपालिका २, थाली स्थित छेपी जेठारा र रामराज जेठाराको घरमा आगलागी हुँदा २ वर्षका रेबेन्द्र जेठाराको ज्यान गएको दुखद समाचार प्राप्त भएको छ ।
आगलागीका कारण दुबै घरमा रहेको नगद, खाद्यान्न, लत्ताकपडा तथा अन्य महत्त्वपूर्ण मालसामान जलेर पूर्ण रूपमा नष्ट भएको बताइएको छ । आगलागी कसरी सुरु भयो भन्ने विषयमा थप विवरण आउन बाँकी रहेको छ ।
घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारको तत्काल उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सम्बन्धित निकायहरू स्थानीय सरकार, सुरक्षा निकाय र सरोकारवाला संस्थाहरूलाई शीघ्र पहल गर्न माग गरिएको छ ।

यसै बीच चिसो र हावाहुरीको मौसममा आगो प्रयोग गर्दा विशेष सतर्कता अपनाउन, विद्युत् सर्ट सर्किट, खुला आगो र चुलो प्रयोगमा सावधानी अपनाउन सबै नागरिकलाई सचेत रहन अनुरोध गरिएको छ ।
घटनाले समग्र समुदायलाई गहिरो शोकमा पारेको छ ।





