जुम्ला । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारले निर्वाचनमा गरेको खर्च विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाउन थालेका छन् । एक प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र र दुईवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको जुम्लामा जम्मा १३ जना उम्मेदवारले निर्वाचन खर्चको विवरण बुझाएको निर्वाचन कार्यालयका सूचना अधिकारी अभिनन्द्र चौलागाईंले जानकारी दिए ।
प्रतिनिधिसभातर्फ सत्ता गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का गोमा कुँवर (गौतम), नेकपा एमालेका रतन नाथ योगि राप्रपाका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) नेमकिपाका डिल्लीप्रसाद काफ्ले र स्वतन्त्र उम्मेदवार डाक्टर कलबहादुर रोकायाले निर्वाचन खर्च विवरण बुझाएको निर्वाचन कार्यालयका सूचना अधिकारी चौलागाईंले जानकारी दिए ।
उनले भने, `प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ज्ञानबहादुरले रु १३ लाख तीन सय, रतन नाथयोगिले १८ लाख ८० हजार , डिल्लीप्रसाद काफ्लेले रु चार लाख ३८ हजार, गोमा कुँवर (गौतम)ले रु २१ लाख ९९ हजार, डाक्टर कलबहादुर रोकायाले रु १३ हजार बराबरको निर्वाचन खर्च विवरण बुझाएका छन ।
प्रदेशसभा (१) तर्फ देवेन्द्रबहादुरी शाहीले रु १० लाख २८ हजार, धिरेन्द्र राज गिरीले रु ८ लाख ४० हजार ,ललितजङ्ग शाहीले रु आठ लाख ६६ हजार, राजेश्वर देवकोटाले रु एक लाख ८३ हजार पाँच सय निर्वाचन खर्च भएको विवरण बुझाएका छन ।
यस्तै प्रदेशसभा (२) तर्फ टेकराज पछाईले रु १० लाख २१ हजार, धनबहादुर बस्नेतले रु दुई लाख ५२ हजार पाँच सय र बिर्खबहादुर रावतले रु एक लाख ६३ हजारको खर्च विवरण बुझाएका छन ।

पहिलो हुने निर्वाचित प्रणालीतर्फ निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची ४० बमोजिमको ढाँचामा खर्च विवरण आयोगलाई बुझाउनुपर्ने हुन्छ ।





