मुगु । यहीँ पौष १९ गते देखि २० गते सम्म सञ्चालन भएको प्रथम इन्डो–नेपाल खुला मार्शल आर्ट प्रतियोगितामा मुगु जिल्लाका खेलाडीहरूले उल्लेखनीय सफलता हासिल गरेका छन । नेपाल सहित भारतका विभिन्न स्थानबाट आएका खेलाडीहरूको सहभागिता रहेको उक्त प्रतियोगिता उच्च प्रतिस्पर्धात्मक रहेको थियो ।

प्रतियोगितामा केटा तर्फ ४०–४५ केजी तौल समूहको फाइटमा मुगुका भूपिन्द्र कामीले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरी स्वर्ण पदक जितेका छन । त्यसैगरी, २५–३० केजी तौल समूहको फाइटमा मुगुकै दीपक बुढाले पनि प्रथम स्थान प्राप्त गर्दै स्वर्ण पदक हात पारेका छन्।
त्यस्तै, केटी तर्फ ३०–३५ केजी तौल समूहमा मुगुकी वर्षा साहानीले द्वितीय स्थान हासिल गर्दै रजत पदक जितेकी छन ।
मुगुका खेलाडी तथा दक्ष प्रशिक्षक आदेश विश्वकर्माका अनुसार प्रतियोगिता निकै चुनौतीपूर्ण भए पनि नियमित अभ्यास, कडा अनुशासन र प्रशिक्षकको निरन्तर मार्गदर्शनका कारण मुगुका खेलाडीहरू सफल हुन सकेका हुन । उनले यस उपलब्धिले जिल्लाका युवा खेलाडीहरूलाई मार्शल आर्ट खेलतर्फ थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।
मुगुका खेलाडीहरूको यस सफलताले जिल्लाको खेलकुद क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको स्थानीय खेलप्रेमीहरूको भनाइ छ । उनीहरूले यस्ता प्रतियोगितामा निरन्तर सहभागिताले मुगुका प्रतिभाशाली खेलाडीहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत पहिचान बनाउन सफल हुने अपेक्षा व्यक्त गरेका छन ।





