जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (KAHS) जुम्ला अन्तर्गत स्नातक तह (BPH) तेस्रो वर्षका विद्यार्थीहरूले लेकबेशी नगरपालिकामा ४५ दिने नगर स्वास्थ्य प्रणाली व्यवस्थापनसम्बन्धी आवासीय शैक्षिक फिल्ड अभ्यास सफलतापूर्वक सम्पन्न गरेका छन ।

सोमबार लेकबेशी नगरपालिकाको सभाहलमा रोशन ताम्रकारको अध्यक्षतामा आयोजित औपचारिक कार्यक्रममा विद्यार्थीहरूले फिल्ड अभ्यासका क्रममा गरेका अध्ययन, मिनी एक्सन प्रोजेक्ट तथा कार्ययोजनाहरू प्रस्तुत गरेका थिए ।
विद्यार्थी आनन्द कुमार सिंहका अनुसार यस शैक्षिक अभ्यासको उद्देश्य नगरपालिकाको स्वास्थ्य प्रणालीको समग्र अवस्था अध्ययन गर्नु, स्रोतसाधनको पहिचान गर्दै स्वास्थ्य व्यवस्थापनका पक्षहरूको समालोचनात्मक समीक्षा गर्नु, प्राथमिक स्वास्थ्य समस्याको पहिचान, मिनी एक्सन प्रोजेक्ट (MAP) सञ्चालन तथा प्राथमिकतामा आधारित पाँच वर्षे स्वास्थ्य योजना तयार गर्नु रहेको थियो ।
फिल्ड अभ्यासका क्रममा लेकबेशी नगरपालिकाको जनसांख्यिक तथा स्वास्थ्य प्रोफाइल तयार गर्नुका साथै सुरक्षित मातृत्व, खोप, CB-IMNCI, HIV तथा STI नियन्त्रण तथा व्यवस्थापनलगायत प्रमुख स्वास्थ्य कार्यक्रमहरूको अवस्था विश्लेषण गरिएको विद्यार्थी वैभव ठाकुरले जानकारी दिए। साथै नगर अस्पताल, स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य सेवा केन्द्र तथा सामुदायिक स्वास्थ्य इकाइहरूको स्थलगत अवलोकन गरिएको थियो ।
यस अवधिमा सुन्दर नेपाल संस्था, नेपाल रेडक्रस सोसाइटी, CMC नेपाल, BNMT नेपाललगायत गैरसरकारी संस्थाहरूको भ्रमण गरी स्वास्थ्य, पोषण, मानसिक स्वास्थ्य, WASH, जीविकोपार्जन, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका क्षेत्रमा भएका कार्यबारे जानकारी लिइएको विद्यार्थी विकास महतोले बताए ।
मिनी एक्सन प्रोजेक्टअन्तर्गत ‘स्वास्थ्य प्रणालीमा अभिलेखन तथा प्रतिवेदन’ विषयमा केन्द्रित भई नगरपालिकाका स्वास्थ्यकर्मीहरूका लागि सहभागितामूलक तालिम सञ्चालन गरिएको थियो । प्रि–टेस्ट र पोस्ट–टेस्टको नतिजाले ज्ञान तथा सीपमा उल्लेखनीय सुधार देखिएको र अभिलेखन सुधारका लागि समिति गठन गरिएको विद्यार्थी दिलिप रावतले जानकारी दिए ।
त्यसैगरी, पेटसम्बन्धी रोग (APD/Gastritis) विषयमा गरिएको महामारीशास्त्रीय अध्ययनले पछिल्ला तीन आर्थिक वर्षदेखि उक्त रोग नगरपालिकामा शीर्ष दुई ओपीडी रोगमध्ये एक रहेको, महिलामा बढी देखिने तथा श्रावण महिनामा यसको प्रकोप बढी हुने निष्कर्ष निकालेको छ ।
फिल्ड अभ्यासको प्रमुख उपलब्धिका रूपमा सुरक्षित मातृत्वसम्बन्धी पाँच वर्षे स्वास्थ्य योजना तयार गरिएको छ । योजनाले गर्भावस्थादेखि सुत्केरीपछिसम्मको सेवाको गुणस्तर सुधार, संस्थागत प्रसूति प्रवर्द्धन, ANC तथा PNC सेवा विस्तार, स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धि र तथ्यांकको प्रभावकारी प्रयोगमार्फत मातृ तथा नवजात शिशु मृत्युदर घटाउने लक्ष्य लिएको विद्यार्थी दिपेन्द्र चौधरीले जानकारी दिए ।
कार्यक्रममा बोल्दै लेकबेशी नगरपालिकाका स्वास्थ्य प्रमुख तथा जनस्वास्थ्य अधिकृत निरञ्जन चन्दले “जनस्वास्थ्यको वास्तविक प्रयोगशाला भनेकै समुदाय हो” भन्दै यस्ता शैक्षिक अभ्यासले विद्यार्थीहरूको क्षमता विकासका साथै स्थानीय तहको स्वास्थ्य प्रणाली सुदृढीकरणमा सकारात्मक योगदान पुग्ने बताए ।
नगर उप–प्रमुख बिमला खड्काले विद्यार्थीहरूले प्रस्तुत गरेको अध्ययन तथा योजनाले नगरपालिकाको स्वास्थ्य सेवा सुधार र नीति निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन ।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने KAHS जुम्ला, प्राध्यापकहरू, स्वास्थ्य शाखा, स्वास्थ्यकर्मी तथा सरोकारवालाप्रति धन्यवाद व्यक्त गर्दै कार्यक्रम संचालक विद्यार्थी लोकमणि बोहराले आभार प्रकट गरे ।





