डोल्पा । कर्णाली प्रदेशकै पहिलो महिला प्रमुख जिल्ला अधिकारी (सिडिओ) का रूपमा जुनु हमाल ढकालले डोल्पा जिल्लाको जिम्मेवारी प्राप्त गरेकी छन । गृह मन्त्रालयको निर्णय अनुसार ढकाललाई डोल्पाको प्रमुख जिल्ला अधिकारीको रूपमा खटाइएको हो ।

कर्णाली प्रदेशको प्रशासनिक इतिहासमा महिला नेतृत्वको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको यस नियुक्तिले समावेशी र समान अवसरतर्फ राज्य संयन्त्र अघि बढिरहेको सन्देश दिएको छ । दुर्गम तथा भौगोलिक रूपमा चुनौतीपूर्ण जिल्ला डोल्पामा प्रशासनिक नेतृत्व सम्हाल्नु आफैंमा महत्वपूर्ण जिम्मेवारी मानिन्छ ।
प्रशासनिक क्षेत्रमा लामो अनुभव हासिल गरेकी ढकालले शान्ति सुरक्षा, सेवा प्रवाहलाई प्रभावकारी बनाउने, सुशासन कायम गर्ने तथा स्थानीय तहसँग सहकार्य गर्दै जिल्लाको समग्र प्रशासनिक व्यवस्थापनलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन ।
स्थानीयवासी तथा सरोकारवालाहरूले महिला सिडिओको नियुक्तिलाई सकारात्मक रूपमा लिँदै, डोल्पाको विकास, सुशासन र नागरिक–मैत्री प्रशासनमा नयाँ ऊर्जा थपिने अपेक्षा गरेका छन ।





