जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको बाह्रौँ औँ सभा प्रतिष्ठानका कुलपति तथा सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीकाे अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौँमा सम्पन्न भएको छ।

उच्चस्तरीय सहभागिता सहित सम्पन्न सभाले प्रतिष्ठानको शैक्षिक, अनुसन्धान तथा स्वास्थ्य सेवा सँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू गरेको छ।
सभामा प्रतिष्ठानका नियमित प्रस्तावहरू सँगै कर्णाली तथा हिमाली क्षेत्रको जैविक विविधता संरक्षण र उपयोग सँग सम्बन्धित एक महत्वाकांक्षी प्रस्ताव पारित गरिएको छ।
नेपाल सरकारका प्रधानमन्त्री सुशीला कार्कीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अनुसन्धान, शिक्षण अस्पताल र क्षेत्रीय स्वास्थ्य सुधारको केन्द्रका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको धारणा व्यक्त गरिन ।
सभाबाट प्राप्त निर्णयले कर्णालीको स्वास्थ्य प्रणाली सुधार, स्थानीय स्रोतसाधनको सदुपयोग र अनुसन्धानमैत्री वातावरण निर्माणतर्फ एक महत्वपूर्ण कदमका रूपमा हेरिएको उनकाे भनाइ छ ।
विशेष गरी औषधिजन्य वनस्पतिको खोजमूलक अनुसन्धान अघि बढाउने तथा ती वनस्पति सँग सम्बन्धित परम्परागत ज्ञानलाई डिजिटल माध्यममा सुरक्षित गर्ने अवधारणा पत्रलाई सैद्धान्तिक स्वीकृति प्रदान गरिएको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला उपकुलपति डा : पुजन कुमार राेकायाले जानकारी दिए ।
उनले भने, यो निर्णयले कर्णाली क्षेत्रको परम्परागत स्वास्थ्य ज्ञान, जडीबुटी र स्थानीय अनुभवलाई वैज्ञानिक अनुसन्धान सँग जोड्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउने अपेक्षा गरिएको छ । परम्परागत ज्ञानको संरक्षण, पुस्तान्तरण र व्यावसायिक उपयोगमा समेत टेवा पुग्ने विश्वास लिइएको छ ।
सभामा सम्माननीय प्रधानमन्त्री, स्वास्थ्य तथा जनसंख्या मन्त्री, वन तथा वातावरण मन्त्री र बौद्धिक सभाका सदस्यहरू तथा सम्बन्धित निकायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।





