जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका, पातारासी गाउँपालिका र कनकासुन्दरी गाउँपालिकाका स्याउ बिमा मुल्यांकन पीडित किसानहरूको लामो संघर्षपछि अन्ततः सहमति भएको छ। शिखर इन्स्योरेन्स कम्पनीले गरेको स्याउ बिमा क्षति मुल्यांकनप्रति असन्तुष्टि जनाउँदै किसानहरूले सुरु गरेको आन्दोलन, धर्ना र वार्ताबाट मिति २०८२ माघ २ गते त्रिपक्षीय सहमतिसहित विवादको टुंगो लागेको हो।

मिति २०८२ मंसिर २१ गते तातोपानी गाउँपालिकाका स्याउ बिमा पीडित किसानहरूले जिल्ला प्रशासन कार्यालय जुम्लामार्फत शिखर इन्स्योरेन्स कम्पनी, थापाथली काठमाडौंलाई ज्ञापनपत्र बुझाएका थिए। त्यसपछि प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको पहलमा जिल्ला प्रशासन कार्यालय जुम्लामा पटक–पटक किसान, बीमा कम्पनीका प्रतिनिधि र स्थानीय जनप्रतिनिधिबीच वार्ता भए पनि सहमति हुन सकेको थिएन।
स्याउ बिमा क्षति मुल्यांकन प्रति बिरुवा रु २४ मात्र तोकिएको विषयमा विवाद चर्किएपछि तातोपानी गाउँपालिकाका जनप्रतिनिधि तथा पीडित किसानसहितको प्रतिनिधिमण्डल पौष २४ गते काठमाडौं पुगेको थियो। पौष २६ गतेदेखि सुरु गरिएको धर्ना कार्यक्रमपछि नेपाल सरकार, कृषि तथा पशुपंक्षी मन्त्रालयका सचिव राजेन्द्र मिश्रको सक्रियतामा शिखर इन्स्योरेन्स, बीमा विकास बोर्ड, जल तथा मौसम विज्ञान विभाग र स्थानीय तहका प्रतिनिधिहरूसहित चरणबद्ध वार्ता भएको थियो।
त्रिपक्षीय सहमतिका मुख्य बुँदा
अन्तिम चरणको वार्ता मिति २०८२ माघ २ गते कृषि तथा पशुपंक्षी मन्त्रालयका सचिव राजेन्द्र मिश्रको रोहबरमा सम्पन्न भई त्रिपक्षीय सहमतिमा हस्ताक्षर भएको छ। सहमतिअनुसारः
शिखर इन्स्योरेन्स कम्पनीले आ.व. ०८०/०८१ को स्याउ बिमा दाबी मुल्यांकन गर्दा प्रयोग गरिएको मौसम मापन केन्द्रको त्रुटिपूर्ण प्रतिवेदन संशोधन गरी तातोपानी, पातारासी र कनकासुन्दरी गाउँपालिकालाई मध्यम खडेरी क्षेत्रका रूपमा मुल्यांकन गर्ने।
यसअघि प्रति बिरुवा रु २४ (+ अनुदान सहित रु २६८) तोकिएको मुल्यांकन संशोधन गरी
तातोपानी गाउँपालिका : प्रति बिरुवा रु ४००
पातारासी र कनकासुन्दरी गाउँपालिका : प्रति बिरुवा रु ३५० कायम गर्ने।
नेपाल सरकारबाट प्राप्त हुने अनुदान पछि सोधभर्ना हुने गरी शिखर इन्स्योरेन्सले जुम्ला जिल्लाका सबै किसानले पाउने अनुदानसमेतको रकम एकमुष्ट उपलब्ध गराउने।
किसानहरूले शिखर इन्स्योरेन्स कार्यालय जुम्लामा लगाएको तालाबन्दी तत्काल खुलाउने ।
पुनर्मूल्यांकनपछि सहमतिपत्रमा हस्ताक्षर भएको मितिले बढीमा १५ दिनभित्र अपुग कागजात संकलन गरी किसानलाई चेकमार्फत दाबी रकम भुक्तानी गर्ने ।
यसअघि स्थलगत निरीक्षणमा मापदण्ड नपुगेको भन्दै अस्वीकार गरिएका बिरुवाको बीमा गर्दा लिइएको प्रिमियम रकम किसानलाई फिर्ता गर्ने।
करिब ५११ किसानलाई प्रत्यक्ष लाभ
सहमतिपछि आ.व. ०८०/०८१ (१ मार्चदेखि ३० अप्रिल २०२४) मा शिखर इन्स्योरेन्ससँग स्याउ बिमा गरेका तातोपानी गाउँपालिकाका करिब ५११ किसानका ९७ हजार २२० बिरुवा तथा पातारासी र कनकासुन्दरी गाउँपालिकाका बिमित किसानले केही भए पनि न्याय पाएको किसानहरूको भनाइ छ ।
स्याउ बिमा पीडित पहल समितिले उचित मागका लागि निरन्तर आन्दोलन, धर्ना र वार्तामा जुट्ने संयोजक पदम बहादुर डाँगी, अगुवा कृषक दुर्गाप्रसाद पाण्डे, आदि प्रसाद न्यौपाने, तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईं, वडा अध्यक्षहरू, कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदर आचार्य, पूर्व प्रतिनिधिसभा सदस्य कान्तिका सेजुवाल र विनिता कठायत, विभिन्न राजनीतिक दलका नेताहरू तथा रातदिन नभनी आन्दोलनमा सहभागी सबै किसान प्रति आभार व्यक्त गरेको छ ।
त्यसै गरी, वार्ताको वातावरण सिर्जना गर्ने जिल्ला प्रशासन कार्यालय जुम्ला, प्रमुख जिल्ला अधिकारी दीपक पौडेल, कृषि तथा पशुपंक्षी मन्त्रालयका सचिव राजेन्द्र मिश्र, शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डे, बीमा विकास बोर्ड तथा जल तथा मौसम विज्ञान विभागका प्रतिनिधिलाई पनि धन्यवाद दिइएको छ ।





