खश साम्राज्य सिजाको इतिहास नागराज पछिको समय अवधिको प्रचार भएको भए तापनि त्यो भन्दा पहिलेको तथ्यहरु खाशै उल्लेख भएको पाइदैन । नागराज देखि पछिको इतिहास दुल्लु स्तम्भले प्रष्ट गरेकाले पनि इतिहासकारहरुको ध्यान त्यता तर्फ केन्द्रीत गरेको पाइएको छ भने राजा नागराजको समय देखि पहिले पनि जुम्लाको इतिहास पनि रहेको देखिन्छ । वि स ६३५ भन्दा पहिले सम्पुर्ण खश साम्राज्यको सिमाना सिन्धु सम्म देखिएको छ । राज्य सञ्चालन गर्ने केन्द्र भने हिमालको काखमा नै रहेकोमा वि स ६०० को सेरोफेरोमा सिन्ध सरेको अनुमान गरिएको छ ।

जव सिन्ध राज्य अरवियनहरुको सत्ताले सेनानी मोहम्द काशीमको नेतृत्वमा आक्रमण गरेर राजा दाहिरको सत्ता विफल बनायो पुन: खशहरुको शासन केन्द्र मानस खण्डको सेरोफेरोमा पुगेको देखिन्छ । त्यही समयबाट स्वर्णप्रस्त नामले चिनिने खश मण्डल आबु, केदार र लावण्य देश गरी तीन भागमा विभाजन हुन गएको देखिन्छ ।
यसै क्रममा हालको जुम्ला तिर पालहरुको शासन चल्दै आएको पाइएको छ । पाल राजाहरूका दश पुस्ताको नाम उल्लेख गरिएको छ । त्यी हुन् आदी पाल, अमर पाल, विजय पाल, विक्रम पाल,श्रीधर पाल, सोम पाल, सुर्य पाल, समुन्द्र पाल, सुख पाल , विग्र पाल, महि पाल, विस्वा पाल र जिवा पाल रहेका छन् । यी राजाहरुको इतिहास दैविक शक्तिसंग पनि जोडिएको देखिन्छ । त्यी मध्ये सुर्य पालको सम्बन्ध सुर्य परिवारसंग रहेको भनिएको छ ।
यी पाल राजाहरु मध्ये महि पाल राजा लोक प्रख्यात थिए । यीनका सेनामा हात्तीका बथान रहेको उल्लेख गरिएको छ । यसको अर्थ महिपाल राजाका सेनाका छाउनी तराइ भवर तर्फ निकै रहेको अनुमान हुन्छ । हुन त जुम्लाका अन्तिम राजा सुर्यभान शाहीका दरवार नजिक हातिसार रहेका थिए भनिएको छ । त्यसैले केही हाती जुम्लामा हुने गरेको देखिन्छ । यी राजा महि पालले चिनबाट कर असुली गर्ने गरेको र चिनले कर वापत वर्षेनी घोडा दिदै आएको भनिएको छ ।
राजा जिवा पालको समयमा राजधानी गेलाँ सरेको थियो भनिन्छ । यी राजा कला साहित्य र चाड पर्वहरू मन पराउने हुदा धेरै उत्सव मनाउने गरेको भनि वर्णन गरिएको छ तर कुन कुन चाड पर्वहरू मनाए त्यो उल्लेख गरेको पाइएन ।
यसपछि श्रीजावा र प्रताप मल्ल दुइ भाइको नाम पाइन्छ । तर प्रताप मल्लको शासन चलेको देखिन्छ । त्यसपछि पुन्य मल्लको राज्यकाल सुरु भएको देखिन्छ । पुन्य मल्ल र उनकी महारानी खान्जना मल्ल भनी उल्लेख गरिएको छ । यी पुन्य मल्लको दरवारमा एक तपश्वी महिलाले स्वर्गका राजा इन्द्रवाट एक पुत्र प्राप्त गरिन जो इन्द्र पुत्र जयन्तको अनुहार मिल्दो जुल्दो रहेको भनी उल्लेख गरिएको छ । त्यी पुत्रलाइ पुन्य मल्लकी महारानी खान्जना मल्ल लाइ दिएको र त्यी बालकको नाम श्रीमल्ल भनि नाम राखिएको पाइन्छ तर यी श्री मल्ल के भए कता गए उल्लेख गरिएको पाइएन ।
अव कुरा रयो नागराजको । राजा नागराज ,राजा पुन्य मल्लको समयमा खारी प्रदेश अर्थात नुनको सिखर मुगुमा रहेको भनिएको छ । यसको अर्थ हो नागराज खारी प्रदेश अर्थात नुनको शिखर भएको प्रदेशको प्रमुख रहेको पाइन्छ । राजा पुन्य मल्लको शासन कालमा पश्चिमी तिब्वत दुइ भागमा विभाजन भएको थियो । एक भाग पुराङ्ग थियो भने अर्को भाग गुँगे रहेको थियो । त्यी मध्ये गुँगे पुन्य मल्लको नियन्त्रणमा रहेको थियो । गुँगे भाग शासन चलाउने राज परिवारले मल्ल उपाधि लिएको हुनाले पुराङ्ग भागको तिव्वती सरकार प्रमुखले पनि मल्ल उपाधि दिइएको भनिएको छ ।
त्यसपछि खारी प्रदेशवाट सिजामा आएर नागराजले सत्ता आफ्नो हातमा लिएको देखिन्छ । यसरी के थाहा हुन्छ भने सिजा र जुम्लाबाट पाल ,मल्ल, चल्ल पुन मल्ल र अन्तमा कल्याल राजाहरुको व्यवस्था चलेको देखिन्छ ।
पाल शासन कालमा ससाना टुक्रामा राज्य विभाजन गरिएको पाइएको छ । त्यी साना राज्यहरूमा पन्चपुरी पाटन, कालिकोट, कोल्टी दानी गौडा,नराकोट सिजा, खुलाली कोट, राष्कोट, डाँफे कोट, गर्ज्ङ्गकोट, सर्पुकोट भर्ताकोट उल्लेख गरिएको छ । पालहरुको गाँउ भएको र देवदारुका रुख पाइने भएकाले जुम्लाको देपालगाँउ नाम रहेको भनएको छ । पछि त्यी पालहरु सरेर पाल्पा बसेकाले पालै पालको वस्तीका कारण पाल्पा भनिएको पनि भनिन्छ ।
पालहरुको अन्त भइ पुन्य मल्लको काल पनि समाप्ती पछि बल्ल खारी प्रदेशवाट आएर राजा नागराजले सिजामा राज्य संचालन गरेको देखिन्छ । तर नागराजको सत्ता संचालन कुन समय देखि सुरु भयो एकिन छैन । नागराज देखि १२ पुस्ताको शासन चलेको देखिन्छ । त्यी हुन नागराज, चाप, चापीचल्ल, क्राधिचल्ल, क्राचल्ल, अशोक चल्ल, जितारी मल्ल, जालन्धरी मल्ल , रिपु मल्ल , संग्राम मल्ल र अभय मल्ल यसमा तिथि मिति सहितका अभिलेख राजा अशोक चल्लको पाइन्छ । अशोक चल्ल नागराजको छैटौं पुस्ताका देखिएकाले नागराजको समय अवधि नवौ सताब्दी देखि एक हजारको अन्त सम्म हुन सक्ने देखिन्छ ।
राजा नागराजलाइ दानवभुतल पनि भनिने गरेको देखिन्छ । त्यसैले भुतलका राजा नागराज पनि भनिएको छ । स्वभावत खशान क्षेत्रमा नाग पुजा गर्ने चलन यीनैले चलाएको हुनु पर्छ । सिन्ध राज्य पतन पश्चात मध्ये हिमाल सरेको खश मन्डललाइ त्यो भन्दा पहिला स्वर्णप्रस्त खश मण्डल भनिएकोमा एक खश मण्डल सिन्ध राजा बाहिरका तीन छोरालाइ अँश बण्डा गरिएकोले आवु, केदार, र लावण्य देश गरी तीन भागमा बाडिएकोमा यी राज्यलाइ राजा नागराजले एकिकरण गरी ६३५ देखिको विभाजित खश मण्डल एकिकृत हुन गयो र सिजा साम्राज्यको सिमाना पश्चिममा लद्दाख गान्धार र उत्तर तिव्वत दक्षिण पावा, मगद , वैशाली अवध सम्म कायम हुन गयो ।
सिजा साम्राज्यको प्रशासनिक संरचना ३६वटा थर्पु छाउनी, ८४ वटा करद राज्य सभा लाख गाँउको केन्द्र अपडराज्य सिजा बन्न गयो । पछिल्लो चरणमा १५२ वटा कोट वन्न पुगेको देखिन्छ ।
जव भारतीय भुमीमा मुगलहरुको प्रवेस हुन गयो त्यसपछि विशाल साम्राज्य सिजा केन्द्रले सामाना गर्न असजिलो हुने गयो भने मुसलमानहरूको पटक पटक आक्रमण, एकातिर थियो भने अर्को तर्फ स्थानिय प्रशासन संचालन गरिरहेका प्रमुखहरुको स्वतन्त्र हुने षड्यन्त्रका कारण सिजा साम्राज्य कालू नदी सम्म सिमित रहन गयो भने तराइका प्रदेश पनि गुमाउनु पर्यो ।
जहाँ सम्म सिजा साम्राज्यलाइ वाइसे राज्य भनिएको छ । यो भनाइ सिजा राज्य विगठन पश्चात बन्न गएका राज्यहरुको कारणले मात्र बाइसे राज्य भनिएको छैन । यो साम्राज्यका वाइस पाखा भएको कारण बाइसे राज्य भनिएको हो । त्यो कुराको पुष्टि गर्न के पनि आधार छ भने सिजा राज्यले १३४४ देखि १३९१ सम्म जम्मा ७ पटक काठमाडौंलाइ आक्रमण गरेको छ । त्यो आक्रमणको क्रममा काठमाडौंका नागरिकले वाइस पाख्यालीले आक्रमण गरेर आगजनी गरेको भनेका छन । जुन समयमा काठमाडौँ आक्रमण भयो त्यो समयमा सिजा साम्राज्य विखण्डन भएको थिएन भने अर्को तिर सिजा राज्य विखण्डन पश्चात ४१ वटा राज्य वनेका छन त्यसैले पनि २२ को संख्या नमिल्नु वाट पनि वाइसे राज्य वाइस पाखाको कारण वाइसे राज्य भनिएको हो । त्यसैले पनि काठमाडौंका जनताले सिजा राज्यलाइ वाइस पाख्याली भनेका हुन ।





