चुनाव नजिकिँदै जाँदा राजनीतिक दलहरू घरदैलोमा व्यस्त छन । कोही घोषणापत्र सार्वजनिक गरिसकेका छन्, कोही लेख्दैछन । तर प्रश्न एउटै छ यी घोषणापत्र साँच्चै देश चलाउने दस्तावेज हुन् कि चुनाव जित्ने अस्थायी नारा मात्र ?

घोषणापत्र कुनै औपचारिक कागज होइन । यो दल वा उम्मेदवारको दृष्टिकोण, दर्शन र समाज प्रतिको बुझाइको ऐना हो । देशलाई कता लैजाने, आर्थिक सामाजिक संकट लाई कसरी सम्बोधन गर्ने, नागरिकको जीवनस्तर कसरी उकास्ने यी सबै प्रश्नको उत्तर घोषणापत्रमै खोजिन्छ । मतदाता पनि त्यही आधारमा आफ्नो विवेक प्रयोग गर्छ ।
तर नेपालमा घोषणापत्रको इतिहास हेर्दा यो कागज भन्दा बढी झूटको संकलन बनेको देखिन्छ । अघिल्ला चुनावमा केबुलकार देखि पानीजहाज सम्मका सपना देखाइए । रोजगारी, समृद्धि, विकासका नारा घन्काइए । तर चुनाव सकिएपछि ती सबै नारा भाषणमै सीमित भए ।
व्यवहारमा न त पानीजहाज आए, न त युवाले काम पाए । बोली र व्यवहारबीचको यही गहिरो खाडलले राजनीतिक दलहरूप्रतिको जनविश्वास क्रमशः क्षयीकरण हुँदै गयो। यही अविश्वासको खाडलमा आज नयाँ भन्ने ट्याग बोकेर केही दलहरू उदाएका छन । तर दुर्भाग्य के छ भने, नयाँ भनिने ती दलहरू पनि पुरानै रोगबाट ग्रसित देखिन्छन फरक यति मात्र हो, उनीहरू नारालाई फेसबुक रिल, टिकटक भिडियो र युट्युब भ्लगमा प्याकेज गर्छन ।
नीति होइन, भाइरल खोज्छन । योजना होइन, सेन्टिमेन्ट बेच्न जान्छन । आज राजनीति बहसको थलो संसद होइन सामाजिक सञ्जाल बनाइएको छ । तथ्य होइन, हल्ला चलाइएको छ । अध्ययन होइन, स्टन्ट प्राथमिकतामा परेको छ ।
सम्भव नहुने कुरा बोलिदिने, कार्यान्वयनको कुनै आधार नहुने प्रतिबद्धता बाँड्ने र त्यसलाई निडर राजनीति को नाम दिने प्रवृत्ति मौलाएको छ। यो प्रवृत्ति खतरनाक छ देशका लागि पनि, लोकतन्त्रका लागि पनि ।
यथार्थमा देश गम्भीर संकटमा छ । अर्थतन्त्र रेमिट्यान्समा अडिएको छ । उत्पादनमूलक उद्योग छैनन, कलकारखाना बन्द छन । हरेक वर्ष करिब पाँच लाख युवा श्रम बजारमा प्रवेश गर्छन तर उनीहरूका लागि रोजगारी छैन । कृषि परम्परागत छ शिक्षा कारिन्दा उत्पादनमै सीमित छ ।
दुई छिमेकी देश तीव्र गतिमा अगाडि बढिरहेका बेला नेपाल अझै पछौटेपनमै अल्झिएको छ । यस्तो अवस्थामा घोषणापत्र हावादारी सपना होइन, यथार्थमा टेकेको कार्ययोजना हुनुपर्छ । विज्ञको सल्लाहमा, स्रोत साधनको हिसाबमा, कार्यान्वयन सम्भव हुने योजनामात्र समेटिनुपर्छ ।
कृषि आधुनिकीकरण, उच्च मूल्य दिने उत्पादन, आयात प्रतिस्थापन, सीपमुखी शिक्षा, उद्योग स्थापना यी विषय नाराका रूपमा होइन, स्पष्ट रोडम्याप सहित आउनुपर्छ ।
नयाँ भन्ने दलहरूले खासगरी आत्मसमीक्षा गर्नुपर्छ । नयाँ हुनु भनेको पुरानालाई गाली गर्नु मात्र होइन ।
नयाँ हुनु भनेको जिम्मेवार हुनु हो । योजना बिना सपना बाँड्नु नयाँ राजनीति होइन, अझ खतरनाक पुरानो रोग हो । जनताको निराशालाई प्रयोग गरेर मत बटुल्ने राजनीति दीर्घकालीन समाधान होइन, अर्को धोका मात्र हो ।
नाम जे दिए पनि घोषणापत्र हावादारी गफको पुलिन्दा हुनु हुँदैन। यो जनआकांक्षाको दस्तावेज होस । कार्यान्वयन गर्छौँ भन्ने प्रतिबद्धता शब्दमा होइन, संरचना र योजनामा देखियोस ।
हाम्रो संसद फेसबुक पोस्ट र टिकटक ट्रेन्डको विस्तार नबनोस । लोकप्रियतावादको भीडमा देशको भविष्य फेरि नहराओस ।
अब जनता गफले होइन, कामले विश्वास गर्छन ।
अब चुनाव भावनाले होइन, विवेकले जितिनुपर्छ ।





