जुम्ला। जुम्लाको पातारासी गाउँपालिकामा सञ्चालित सुमात्रा परियोजनाको सामाजिक परीक्षण सम्पन्न भएको छ। शुक्रबार आयोजित कार्यक्रममा परियोजनाले साढे दुई वर्षको अवधिमा गरेका गतिविधि, उपलब्धि तथा आगामी प्राथमिकताबारे विस्तृत समीक्षा गरिएको हो ।
कार्यक्रममा किर्डाक नेपाल जुम्लाका क्षमता अभिवृद्धि विशेषज्ञ श्रीवहादुर भण्डारीले सन् २०२३ देखि सञ्चालन भएको परियोजनामा हालसम्म ८० लाख ५० हजार रुपैयाँ खर्च भएको जानकारी दिनुभयो। उहाँका अनुसार परियोजनाले प्रत्यक्ष रूपमा १ हजार ८ सय ७५ जना लाभग्राहीसँग काम गरेको छ ।

परियोजना क्षमता विकास, नीति निर्माणमा सहयोग तथा पानीका मुहान संरक्षणलाई केन्द्रमा राखेर सञ्चालन गरिएको भण्डारीको भनाइ छ। जलस्रोत तथा प्राकृतिक स्रोतको दीगो संरक्षणलाई मुख्य उद्देश्य बनाएर काम गरिएको उल्लेख गर्दै उहाँले भविष्यमा परियोजना पुनः सञ्चालन भएमा भौतिक पूर्वाधार निर्माणमा समेत जोड दिन सकिने बताउनुभयो।
कार्यक्रममा पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले क्षमता विकाससम्बन्धी काम सम्पन्न भइसकेकाले अब खानेपानी अभाव भएका बस्तीहरूमा संरचना निर्माणतर्फ ध्यान दिन आवश्यक रहेको बताउनुभयो। गाउँपालिकाभित्र खानेपानीको समस्या रहेका गाउँलाई प्राथमिकताका आधारमा संरचना निर्माण गर्नुपर्ने उहाँको भनाइ थियो।
यस्तै गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रतन बुढथापाले क्षमता विकास बिना मात्र भौतिक संरचना निर्माण गर्दा दीगो संरक्षण सम्भव नहुने धारणा राख्नुभयो। प्राकृतिक स्रोत संरक्षणमा किर्डाक नेपालले पातारासीमा सकारात्मक भूमिका खेलेको उल्लेख गर्दै उहाँले उपलब्ध पानीका स्रोतहरूको दर्ता र संरक्षणमा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो।
नेदरल्याण्ड सरकारको सहयोग, पातारासी गाउँपालिकाको समन्वय, मध्यपश्चिम विश्वविद्यालयको साझेदारी तथा किर्डाक नेपाल जुम्लाको प्राविधिक सहयोगमा सुमात्रा परियोजना सञ्चालन भएको हो। हाल परियोजना समापनको चरणमा पुगेको छ ।
परियोजना अधिकृत विनु चित्रकारका अनुसार परियोजनाअन्तर्गत क्षमता विकास, नीति निर्माणमा सहयोग, वकालत तथा जलकचहरी सञ्चालनलगायतका गतिविधि गरिएको थियो। उहाँले वन उपभोक्ता समिति, खानेपानी उपभोक्ता समिति तथा जनप्रतिनिधिहरूको क्षमता अभिवृद्धिमा परियोजनाले महत्वपूर्ण योगदान दिएको बताउनुभयो। साथै खानेपानी तथा सरसफाइ नीतिको निर्माण प्रक्रियामा समेत परियोजनाको उल्लेखनीय भूमिका रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा पातारासी गाउँपालिकामा रहेका ४ सय ९५ वटा पानीका मुहानमध्ये हाल १ सय ३८ वटा मात्र प्रयोगमा रहेको तथ्य सार्वजनिक गरिएको छ। डोजरको अत्यधिक प्रयोगका कारण पानीका मुहान सुक्ने र पहिरोको जोखिम बढ्दै गएको भन्दै सरोकारवालाहरूले प्राकृतिक स्रोत संरक्षणका लागि दीर्घकालीन योजना आवश्यक रहेको बताएका छन ।





