अहिले बंगलादेशमा दुई कुराको चर्चा चलिरहेको छ । एक, पुरानो दल बीएनपीको एकल दुईतिहाइ आएको । दुई, चर्चित युवानेतृ तास्निम जाराको पराजय ।

बंगलादेशको राजधानी ढाका क्षेत्र नम्बर ९ बाट स्वतन्त्र उम्मेदवारी दिएकी उनी भकुण्डो चुनाव चिह्न लिएर मैदानमा उत्रेकी थिइन् । उनको सामाजिक सञ्जाल र आमसञ्चारमाध्यममको चर्चाले उनको जितको चर्चा थियो । तर, जारा पराजित भएकी छिन् । ३१ वर्षकी जारालाई उनी भन्दा पाका बीएनपी पार्टीका हाबिबुर रसिदले लाख भन्दा धेरै मत ल्याएर पराजित गरेका छन् । बीएनपीको चुनाव चिह्न धानको बाला हो ।
को हुन् जारा
ढाकामै जन्मिएकी जारा बंगलादेशकी चर्चित अनुहार हुन् । पेसाले चिकित्सक उनी सामाजिक सञ्जालमा ज्यादै लोकप्रिय छिन् । उनका फेसबुक फलोअर्स मात्रै ७५ लाख छन् । बंगलादेशको विद्यार्थी आन्दोलनकी पक्षधर उनले बंगलादेशको आन्दोलनपछिको अवस्थामा विश्वभरबाट निम्तो पाइन् । निम्तो लिएर उनी मन्तव्य दिन पुगिन् ।
केहीअगाडि नेपालमा भएको हिन्दु कुश हिमाल क्षेत्रका सांसदको भेलामा पनि उनी बंगलादेशबाट आएकी थिइन् । संसद विघटन भएको देशबाट उनी आएकी थिइन । संसद बन्ने प्रक्रियामा भने उनलाई पहिलो पाइलामै ठेस लागेको छ ।
सन् २०१६ मा विवाह गरेकी जाराका पति बंगलादेशका चर्चित प्राविधिक क्षेत्रका उद्यमी र मानवअधिकारको पैरवीकर्ता हुन् । जाराले विश्वका चर्चित विश्वविद्यालयहरू क्याम्ब्रिज र अक्सफोर्डबाट शिक्षा हासिल गरेकी हुन् । सन् २०२४ मा उनले जातीय नागरिक कमिटीबाट राजनीतिक सक्रियता बढाएकी थिइन् ।
औपचारिक रूपमा दलमा भने उनी विद्यार्थी आन्दोलनकारीले खोलेको दल नेसनल सिटिजन पार्टी ९एनसीपी०मा आबद्ध भइन् । उनले पछि एनसीपी छोडिन् । वरिष्ठ सहसचिवको रूपमा रहेकी उनले दल छोडेर स्वतन्त्र उम्मेदवारी दिएकी थिइन् । कट्टर धार्मिक अतिवादी दल जमात–इ–इस्लामीसँग गठबन्धन गरेको देखि विभिन्न मुद्दामा असहमत भएर जाराले दल छोडेर स्वतन्त्र उम्मेदवारी दिएको चर्चा गरिएको छ ।





