जुम्ला । जुम्लाबाट नेपालगञ्ज सम्म बिरामी लैजान एम्बुलेन्सको भाडा २५ हजार रुपैयाँ निर्धारण गरिएपछि स्थानीयस्तरमा तीव्र आलोचना सुरु भएको छ । जिल्ला एम्बुलेन्स समितिले आफूखुसी भाडादर तोकेको आरोप लगाउँदै सर्वसाधारणले निर्णयको पुनरावलोकन माग गरेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको एम्बुलेन्स सञ्चालन निर्देशिका, २०८२ बमोजिम प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको अध्यक्षतामा २४ पुसमा बसेको बैठकले नयाँ भाडादर निर्धारण गरेको हो । जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख किरण कुमार शर्माले जनगुनासो आएको स्वीकार गर्दै आवश्यक परे आगामी बैठक बाट पुनरावलोकन गर्न सकिने बताएका छन् ।

निर्धारित नयाँ दर अनुसार
चन्दननाथ नगरपालिकाभित्र ६ सय रुपैयाँ
जिल्ला भित्र कच्ची सडक प्रतिकिलोमिटर १०० रुपैयाँ (दुवैतर्फ)
जिल्ला भित्र पक्की सडक: प्रतिकिलोमिटर ९० रुपैयाँ (दुवैतर्फ)
जुम्ला देखि सुर्खेत: २० हजार रुपैयाँ
जुम्ला देखि नेपालगञ्ज: २५ हजार रुपैयाँ
समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार दूरी, इन्धन खर्च, मर्मत सम्भार तथा चालक पारिश्रमिकका आधारमा भाडादर निर्धारण गरिएको हो । जिल्लामा फरक–फरक श्रेणीका एम्बुलेन्स सञ्चालनमा रहेकाले एकरूपता ल्याउन निर्णय गरिएको उनको भनाइ छ ।
विशेषगरी सुर्खेत र नेपालगञ्ज सम्मको भाडा अत्यधिक महँगो भएको भन्दै स्थानीय असन्तुष्ट छन् । आकस्मिक अवस्थामा बिरामीलाई बाहिर लैजानुपर्ने बाध्यतामा यति ठूलो रकम तिर्नुपर्दा गरिब तथा विपन्न परिवार झन् संकटमा पर्ने उनीहरूको गुनासो छ ।
सिंजा, तिला, हिमा गाउँपालिका तथा चन्दननाथ नगरपालिकाले समितिको निर्णय कार्यान्वयन गर्ने सूचना जारी गरिसके पनि सर्वसाधारणले निर्णय फिर्ता वा संशोधन गर्न दबाब दिइरहेका छन् ।
जुम्लामा हाल १७ वटा एम्बुलेन्स र १ वटा शवबहान सञ्चालनमा छन् । जसमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ३ वटा , गुठीचौर १ वटा, पातारासी २ वटा, तातोपानी १ वटा, तिला १ वटा,सिंजा २ वटा, कनकासुन्दरी २ वटा, हिमा गाउँपालिका ४ वटा, चन्दननाथ नगरपालिका १ एम्बुलेन्स र १ शवबहानको समितिले भाडादर वैज्ञानिक आधारमा निर्धारण गरिएको दाबी गरे पनि सर्वसाधारणको प्रश्न उस्तै छ ।
आपतकालीन स्वास्थ्य सेवा नै यति महँगो हुँदा विपन्न नागरिकले कसरी उपचार पाउने ? अब जिल्ला एम्बुलेन्स समितिको आगामी बैठकले जनगुनासोलाई कत्तिको सम्बोधन गर्छ, त्यसतर्फ सबैको नजर केन्द्रित भएको छ ।





