मुगु । छायानाथ रारा नगरपालिका वडा नम्बर १४ अन्तर्गत बामागाउँ आसपास क्षेत्रमा 4G टावर निर्माण सम्पन्न भएको छ। लामो समयदेखि टेलिकम सेवाको अभाव झेल्दै आएका स्थानीय बासिन्दाका लागि यो निर्माण महत्वपूर्ण उपलब्धि मानिएको छ।

स्थानीय समाजसेवी अनिल बानियाको पहलमा टावर निर्माण कार्य अघि बढाइएको हो। दुर्गम भौगोलिक अवस्थाका कारण सञ्चार पहुँचबाट वञ्चित हुँदै आएका बामागाउँका सर्वसाधारण अब छिट्टै 4G सेवाबाट लाभान्वित हुने अपेक्षा गरिएको छ।
वडा नम्बर १४ का अध्यक्ष जुन बहादुर बुढाका अनुसार टावर निर्माणको भौतिक संरचना तयार भइसकेको छ। अब आवश्यक विद्युत जडानको काम सम्पन्न हुनेबित्तिकै सेवा सञ्चालनमा ल्याइनेछ।
स्थानीयले 4G सेवा सञ्चालनमा आएपछि शिक्षा, स्वास्थ्य, व्यापार तथा आपतकालीन सञ्चारमा सहजता आउने विश्वास व्यक्त गरेका छन्।






