सुर्खेत । वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा १६ वर्षीया छात्रा इनिसा विक मृत फेला परेको घटनाले सुर्खेतमा आक्रोश र चिन्ता बढाएको छ । घटनाको सत्यतथ्य सार्वजनिक गर्न तथा दोषीलाई कडा कारबाही गर्न माग गर्दै पीडित परिवार, आफन्त तथा मानव अधिकारकर्मीहरू प्रदर्शनमा उत्रिएका छन ।
फागुन २७ गते वीरेन्द्रनगर बजार, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेत अगाडि खबरदारी र्याली निकाल्दै उनीहरूले न्यायको माग गरेका हुन्। प्रदर्शनकारीहरूले “इनिसालाई न्याय देऊ”, “बालिकामाथि हुने बलात्कार र हत्या बन्द गर” र “दोषीलाई कडा कारबाही गर” जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

मृतक इनिसाकी आमा तारा विकले प्रमुख जिल्ला अधिकारीलाई भेटेर घटनाको निष्पक्ष छानबिन गर्न ध्यानाकर्षण पत्र बुझाएकी छन । परिवारले घटनाको सत्यतथ्य सार्वजनिक नभएसम्म शव नबुझ्ने अडान लिएको जनाएको छ ।
फागुन २३ गते बिहान ट्युसन पढ्न घरबाट निस्किएकी इनिसा वीरेन्द्रनगर–४ स्थित शहीद पार्क नजिकैको जंगलमा बेहोस अवस्थामा फेला परेकी थिइन । घटनास्थलबाटै वीरेन्द्रनगर–९ का १६ वर्षीय एक बालकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । साथै घटनामा संलग्न भएको आशंकामा १५, १६ र १७ वर्षका थप तीन जना बालकलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
इनिसा गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर–१ मा बस्दै आएकी थिइन । उनी वीरेन्द्रनगर–६ स्थित उषा बालबाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिइन् ।
परिवारका अनुसार घटनास्थलमा उनको शरीर रक्ताम्मे अवस्थामा भेटिएको, कपाल लुछिएको तथा जुत्ता–मोजा फरक–फरक स्थानमा फेला परेको थियो । आफन्तहरूले उनीमाथि बलात्कारपछि हत्या गरिएको दाबी गरेका छन ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाका अनुसार घटनाबारे विस्तृत अनुसन्धान जारी छ । उनका अनुसार बलात्कार भएको वा नभएकोबारे चिकित्सकीय रिपोर्ट आउन बाँकी रहेको छ।
यसैबीच इन्सेक कर्णाली, मानव अधिकार रक्षक सञ्जाल, महिला मानव अधिकार रक्षक सञ्जाल लगायतका संस्थाहरूले पनि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ज्ञापनपत्र बुझाउँदै घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन्।
घटनाले बालिका सुरक्षाको प्रश्न पुनः गम्भीर रूपमा उठाएको छ भने नागरिक समाजले सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन राज्यसँग जोडदार माग गरेको छ।





