सुर्खेत । सुर्खेत वीरेन्द्रनगरमा बस्ने १६ वर्षीया इनिसा विक । एउटा सामान्य विद्यार्थी, परिवार र भविष्यको सपना बोकेकी किशोरी हुन । तर फाल्गुन २३ गते, उनले आफ्नो जीवनको अन्तिम बिहान पनि ट्युसन पढ्न गइरहेकी थिइन् । तर अब इनिशा हाम्रो बीच छैनन् ।

उनमाथि भएको सामूहिक बलात्कार र हत्याले केवल उनको परिवारलाई मात्र होइन, सम्पूर्ण समाजलाई स्तब्ध बनाएको छ । दलित समुदाय, बालिका अधिकार र सुरक्षा संयन्त्रको संवेदनशीलता माथि ठूलो प्रश्न उठाएको यो घटनाले हामी सबैको गहिरो विवेकलाई झकझकाइ दिएको छ ।
यस प्रकरणप्रति पर्यावरणीय लोकतन्त्रका लागि नागरिक अभियानले आफ्नो गहिरो ध्यानाकर्षण जनाएको छ । बुधबार जारी प्रेस विज्ञप्ति मार्फत अभियानले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै निष्पक्ष, स्वतन्त्र छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेको छ ।
अभियानले नेपाल सरकारसमक्ष विभिन्न ४ बुँदे मागहरू अघि सारेको छ,
घटनामा कुनै राजनीतिक वा सामाजिक प्रभाव नपरोस्, उच्चस्तरीय निष्पक्ष छानबिन गरियोस् ।
दोषीलाई कानुन अनुसार हदैसम्मको कारबाही गरियोस्, ‘नाबालक’ बहाना नमानियोस् ।
पीडित परिवारलाई उचित क्षतिपूर्ति र परिपूरण उपलब्ध गराइयोस् ।
लैङ्गिक हिंसा र जातीय विभेदका संरचनात्मक कारणहरू अन्त्य गर्न दीर्घकालीन रणनीति लागू गरियोस ।
अभियानले न्यायको लागि आवाज उठाउँदै मृतकका परिवारसँग एकजुटता र संवेदना व्यक्त गरेको छ । अभियानका नेतृत्वकर्ता नरेन खतिवडा भन्छन्,
“इनिसा भुलेर होइन, न्याय नपाएसम्म हामीले आफ्नो आवाज उठाइरहनेछौं । यो केवल एउटा केस होइन, यो हाम्रो सामाजिक जिम्मेवारी हो ।”
विज्ञप्तिमा नरेन खतिवडा, ओम रम्तेल, कर्ण बहादुर नेपाली, प्रयास अधिकारी, योगेन्द्र विजय दाहाल, भोला भट्टराई, प्रतिमा गुरुङ्ग मन्जु गुरुङ्ग, राम कृष्ण भुजेल, जिया राजभण्डारी, जय गुप्ता, कृष्ण पाण्डे, संजोग ठकुरी, लोकेन्द्र राज गिरी, गणेश धामी, भरत विश्वकर्मा, खगेन्द्र ओली, गंगा कडेल, जिना यादव, भुपेन्द्र शाह, कोमल लक्ष्मी दाहाल, समिर परियार साबित्री बिक , दिल बहादुर भण्डारी लगायतका अधिकारकर्मीहरुले एकयवद्धता जनाउदै मृतकका सपनाहरू र अधिकारको संरक्षणका लागि निरन्तर आन्दोलन र दबाब कार्यक्रमहरू जारी राख्ने प्रतिबद्धता जनाएका छन् ।





