जुम्ला । जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा एक साता देखि बन्द रहेको एक्स–रे सेवा पुनः सुचारु भएको छ। प्राविधिक समस्या आए पछि बन्द भएको सेवा सञ्चालनमा आए सँगै उपचारका लागि अस्पताल पुग्ने बिरामी तथा सेवाग्राहीलाई ठूलो राहत मिलेको छ ।

अस्पताल स्रोतका अनुसार एक्स–रे मेसिनमा आएको प्राविधिक खराबीका कारण गत हप्ता देखि सेवा अवरुद्ध भएको थियो । मेसिन बिग्रिए पछि दैनिक उपचारका लागि आउने सयौ बिरामी प्रभावित भएका थिए ।
विशेषगरी हड्डी सम्बन्धी समस्या, दुर्घटनामा घाइते भएका बिरामी तथा विभिन्न रोगको परीक्षण गर्नुपर्ने बिरामीले एक्स–रे सेवा नपाउँदा सास्ती भोग्नुपरेको थियो ।
सेवा बन्द हुँदा धेरै बिरामी निजी क्लिनिक वा अन्य अस्पताल धाउन बाध्य भएका थिए । केही बिरामीले आवश्यक परीक्षण गराउन नसक्दा उपचारमा ढिलाइ भएको गुनासो पनि गरेका थिए ।
विकट कर्णालीका विभिन्न जिल्लाबाट उपचारका लागि आउने बिरामीका लागि एक्स–रे सेवा अत्यन्त आवश्यक मानिन्छ ।
अस्पताल प्रशासन प्रमुख द्वन्द बहादुर शाहीका अनुसार प्राविधिक टोलीले मेसिन मर्मत गरे पछि सेवा पुनः सञ्चालनमा ल्याइएको हो । अहिले एक्स–रे कक्षमा नियमित रूपमा परीक्षण सुरु भइसकेको र बिरामीलाई आवश्यक सेवा प्रदान भइरहेको उनकाे भनाइ छ ।
कर्णाली प्रदेशकै प्रमुख स्वास्थ्य संस्थाका रूपमा रहेको यस प्रतिष्ठानमा जुम्ला सहित कालीकोट, मुगु, डोल्पा, हुम्ला र जाजरकोट लगायतका जिल्लाबाट दैनिक ठूलो संख्यामा बिरामी उपचारका लागि आउने गर्छन् ।
त्यस्ता बिरामीका लागि एक्स–रे सेवा अत्यन्तै महत्वपूर्ण मानिन्छ। एक हप्ता देखि सेवा अवरुद्ध हुँदा बिरामी तथा सेवाग्राहीले भोगेको समस्या पछि सेवा पुनः सञ्चालनमा आउँदा स्थानीयवासी तथा बिरामीहरूले राहत महसुस गरेका छन् ।
अस्पताल प्रशासनले आगामी दिनमा यस्ता समस्या दोहोरिन नदिन उपकरणको नियमित जाँच तथा मर्मतलाई प्राथमिकता दिने जनाएको छ।





