जुम्ला । गुठीचौर गाउँपालिकाले सवारी साधनको दुरुपयोग, अनियन्त्रित इन्धन खर्च र मर्मतमा हुने बेरुजु नियन्त्रण गर्न कडा नीति अवलम्बन गरेको छ । गाउँपालिकाका अध्यक्ष दान ब. बुढाको नेतृत्वमा गाउँकार्यपालिकाले “सवारी साधन सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२” स्वीकृत गरी लागू गरेको हो ।
यसअघि भदौ २३ र २४ को जेन-जी आन्दोलनपछि गुठिचौरले सुशासन अभियान चलाएर सवारीसाधन सञ्चालनमा रोक लगाएको थियो । तर अहिले कार्यपालिका बैठकले कार्यविधि पारित गर्दै सवारी साधन मर्मत संभार गरी सञ्चालनमा ल्याउने भएको छ ।

२०८२ चैत ६ गते स्वीकृत उक्त कार्यविधिले गाउँपालिकाको स्वामित्वमा रहेका तथा भाडा वा निःशुल्क प्रयोगमा रहेका सबै सवारी साधनलाई पारदर्शी, मितव्ययी र उत्तरदायी ढंगले सञ्चालन गर्ने लक्ष्य लिएको छ।
नयाँ कार्यविधिअनुसार अब सवारी साधन प्रयोग गर्न अनिवार्य लगबुक राख्नुपर्ने छ । लगबुक बिना गरिएको प्रयोगलाई “अनाधिकृत” मानिनेछ र त्यसको इन्धन खर्च सम्बन्धित व्यक्तिले नै बेहोर्नुपर्ने व्यवस्था गरिएको छ ।
कार्यालय समय बाहेक सवारी प्रयोग गर्न प्रमुख प्रशासकीय अधिकृतको लिखित पास अनिवार्य गरिएको छ ।
गाउँपालिकाले इन्धन वितरणमा कुपन प्रणाली लागू गरेको छ ।
दुई पाङ्ग्रे सवारीलाई प्रति महिना १० लिटर पेट्रोल
फिल्डमा खटिने प्राविधिकलाई थप ५ लिटर
चार पाङ्ग्रे सवारीलाई आवश्यकता अनुसार इन्धन
कुपनमा सवारी नम्बर र माइलेज उल्लेख गर्नुपर्नेछ, जसले खर्चमा पारदर्शिता ल्याउने अपेक्षा गरिएको छ ।
सवारी साधन मर्मतमा अनावश्यक खर्च रोक्न स्पष्ट सीमा निर्धारण गरिएको छः
नयाँ मोटरसाइकल/स्कुटर: अधिकतम २० हजार रुपैयाँ
पुराना दुई पाङ्ग्रे: अधिकतम २५ हजार रुपैयाँ
चार पाङ्ग्रे सवारीमा १० हजारभन्दा बढी खर्च गर्दा कार्यपालिकाको स्वीकृति अनिवार्य
मर्मतपछि पुराना पार्टपुर्जा अनिवार्य रूपमा जिन्सी शाखामा बुझाउनुपर्ने व्यवस्था पनि गरिएको छ।
कार्यालय प्रयोजनका लागि निजी सवारी प्रयोग गर्दा इन्धन वा मर्मत खर्च नपाइने स्पष्ट व्यवस्था गरिएको छ। साथै TA/DA लिने कर्मचारीले सोही प्रयोजनमा कार्यालयको इन्धन प्रयोग गर्न नपाउने नियम लागू गरिएको छ।
सवारीको बिमा र नवीकरण समयमै नगरेमा जरिवाना सम्बन्धित कर्मचारी वा चालकको तलबबाट कटौती गरिनेछ। दुर्घटना भएमा २४ घण्टाभित्र जानकारी दिनुपर्नेछ र चालकको लापरवाही प्रमाणित भएमा क्षतिपूर्ति स्वयंले बेहोर्नुपर्नेछ ।
सवारी साधन सफा राख्ने, कम खर्चमा राम्रो सञ्चालन गर्ने र दुर्घटनारहित सेवा दिने चालकलाई “उत्कृष्ट चालक” पुरस्कार प्रदान गरिने प्रावधान राखिएको छ ।
गाउँपालिका अध्यक्ष दान ब. बुढाले यस कार्यविधिले सवारी साधनको दुरुपयोग अन्त्य गर्दै सुशासनलाई मजबुत बनाउने विश्वास व्यक्त गरे।
उनले भने, “सार्वजनिक सम्पत्तिको संरक्षण, खर्चमा पारदर्शिता र जिम्मेवारी सुनिश्चित गर्न यो कार्यविधि महत्वपूर्ण कदम हो ।
गुठीचौर गाउँपालिकाको यो कदम कर्णाली प्रदेशका स्थानीय तहमा सवारी व्यवस्थापनमा अनुशासन र पारदर्शिताको नमुना बन्न सक्ने देखिएको छ । सुशासन अभियानलाई संस्थागत बनाउन यो कार्यविधिले दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको छ ।





