जुम्ला । हिमाली क्षेत्रका महिला तथा किशोरीहरूलाई खेलकुद, शिक्षा र नेतृत्वमार्फत सशक्त बनाउने उद्देश्य सहित ‘हिमशक्ति फाउन्डेसन’ले जुम्लामा नयाँ पहल सुरु गरेको छ । “हिमालयका छोरीहरूलाई फुटबल, शिक्षा र नेतृत्वमार्फत सशक्त बनाउने” स्पष्ट लक्ष्य सहित फाउन्डेसनले बहुआयामिक कार्यक्रम अघि बढाएको हो ।

फाउन्डेसनले खेलकुद पूर्वाधार विकास, शैक्षिक कार्यक्रम, नेतृत्व विकास, स्वास्थ्य तथा पोषण, र उद्यमशीलता प्रवर्द्धन लाई आफ्ना प्रमुख सेवाका रूपमा समेटेको छ । यी कार्यक्रममार्फत ग्रामीण तथा दुर्गम क्षेत्रका किशोरीहरूलाई अवसर र क्षमता विकासका लागि प्लेटफर्म प्रदान गर्ने लक्ष्य राखिएको छ ।
यसै क्रममा चन्दन्नाथ मावि, जनता मावि, कनिका निशा, जेआर कर्णाली र केटिएसबाट ९ देखि १३ वर्ष उमेर समूहका ४० जना छात्राहरू छनोट गरिएको छ । छनोट भएका छात्राहरूलाई फुटबल र जर्सी समेत वितरण गरिएको छ जसले उनीहरूको खेल प्रतिको उत्साह थप बढाएको छ ।
फाउन्डेसनका अनुसार, भोलि देखि नै बिहान ७:०० बजे देखि नियमित फुटबल प्रशिक्षण सुरु गरिनेछ । प्रशिक्षण कार्यक्रम मार्फत छात्राहरूको शारीरिक क्षमता, अनुशासन र टोलीभाव विकासमा जोड दिइने जनाइएको छ ।
फाउन्डेसनले निकट भविष्यमा ‘हिमशक्ति जुम्ला महिला फुटबल टिम’ गठन गर्ने योजना पनि सार्वजनिक गरेको छ। यसले जुम्लाका प्रतिभाशाली किशोरीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।






