जुम्ला । जुम्लामा मौरीपालन व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले हिमा गाउँपालिका–३ मा ७ दिने मौरीपालन तथा प्रशोधन सम्बन्धी सिपमूलक तालिम सञ्चालन गरिएको छ ।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाको आयोजना र हिमा गाउँपालिका–३ को समन्वयमा सुरु गरिएको उक्त तालिम शुक्रबार एक कार्यक्रमका बिच औपचारिक रूपमा उद्घाटन गरिएको हो ।
तालिममा वडाका १२ जना कृषक सहभागी रहेका छन् । स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने र आयआर्जन बढाउने लक्ष्यसहित सञ्चालन गरिएको यस तालिमले मौरीपालन प्रति कृषकहरूको चासो र आत्मविश्वास बढाउने अपेक्षा गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख मन्दिरनाथ याेगीले जानकारी दिए ।
उनका अनुसार, मौरीपालन व्यवसाय कम लगानीमा बढी आम्दानी दिने सम्भावना बोकेको क्षेत्र भएकाले यस तर्फ कृषकहरूलाई आकर्षित गर्न तालिम आयोजना गरिएको बताए ।
तालिममा सहभागी कृषकहरूलाई मौरीपालनका आधारभूत सिद्धान्त, घार व्यवस्थापन, मौरीको स्वास्थ्य तथा रोग नियन्त्रण, मह संकलन तथा प्रशोधन विधि, बजार व्यवस्थापन लगायतका विषयमा व्यावहारिक र सैद्धान्तिक ज्ञान प्रदान गरिने उनकाे भनाइ छ ।
प्रशिक्षकहरूले मौरीपालनलाई आधुनिक र व्यावसायिक ढंगले सञ्चालन गर्न आवश्यक सीप सिकाउने छन् । हिमा गाउँपालिका–३ का का वडा अध्यक्ष धनबिर राेकायाले कृषिमा आधुनिकीकरण ल्याउन यस्ता तालिमहरू महत्वपूर्ण हुने बताए ।
उनका अनुसार,मौरीपालनले वातावरण संरक्षणमा समेत सकारात्मक भूमिका खेल्ने उल्लेख गर्दै कृषकहरूलाई सिकेका सीप व्यवहारमा लागू गर्न आग्रह गरे ।
सहभागी कृषकहरूले तालिम बाट नयाँ ज्ञान र सीप हासिल गर्ने उत्साह व्यक्त गरेका छन् । उनीहरूले मौरीपालनलाई आयआर्जनको भरपर्दो माध्यम बनाउने लक्ष्य लिएको बताएका छन् ।
पहिले परम्परागत तरिकाले मात्र मौरी पालिरहेका थियौ, अब तालिम पश्चात् वैज्ञानिक विधि सिकेर व्यवसायिक रूपमा अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।





