जुम्ला । जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको आयोजनामा स्वास्थ्यकर्मीहरूका लागि सञ्चालन गरिएको दुई दिने क्षयरोग (टीबी) सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न भएको छ ।

जिल्लाभर क्षयरोग नियन्त्रण अभियानलाई अझ प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको उक्त तालिमले स्वास्थ्य सेवाको गुणस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।
तालिममा जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो । सहभागीहरूलाई क्षयरोगको पहिचान, परीक्षण विधि, उपचार प्रक्रिया तथा बिरामी व्यवस्थापनका नवीनतम तरिकाबारे व्यावहारिक तथा सैद्धान्तिक जानकारी प्रदान गरिएको जनाइएको छ ।
जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरण कुमार शर्माका अनुसार पछिल्लो समय क्षयरोगका बिरामी पत्ता लगाउने दर बढाउन र उपचारलाई अझ प्रभावकारी बनाउन यस्ता तालिम अत्यन्त आवश्यक रहेकाे बताए ।
उनका अनुसार, स्वास्थ्यकर्मीहरूलाई समय अनुसार अद्यावधिक ज्ञान र सीप प्रदान गरिएमा नयाँ क्षयरोगी पत्ता लगाउने दरमा वृद्धि हुनुका साथै बिरामीको उपचार पनि अझ प्रभावकारी गराउने लक्ष्य रहेकेाे बताए ।
उनले भने, ग्रामीण तथा दुर्गम क्षेत्रमा अझै पनि क्षयरोगका लक्षण बारे पर्याप्त जनचेतना नहुँदा धेरै बिरामीहरू ढिलो उपचारमा आउने समस्या देखिएको छ ।
यस्तो अवस्थामा स्वास्थ्यकर्मीहरू नै पहिलो सम्पर्क बिन्दु भएकाले उनीहरूको क्षमता अभिवृद्धि गर्नु अपरिहार्य रहेको प्रमुख शर्माले उल्लेख गरे ।
तालिमका क्रममा सहभागीहरूले आफ्नो अनुभव आदानप्रदान गर्दै सेवा प्रवाहमा देखिएका चुनौतीहरूबारे छलफल गरेका थिए ।





