काठमाडौं । श्रममन्त्रीबाट बर्खास्त भएका दिपक साहकी पत्नी जुनु श्रेष्ठले मुख खोलेकी छन् । आफ्नो श्रीमानमाथि अन्याय भएको उनले गुनासो गरिन् ।

प्रधानमन्त्री बालेन्द्र शाहले आज श्रममन्त्री शाहलाई पदीय दुरुपयोग गरेको आरोपमा बर्खास्त गरेका हुन् । श्रममन्त्रीले आफ्नो पत्नीलाई स्वास्थ्य मन्त्रालय अन्तरगतको स्वास्थ्य बिमा बोर्डमा थमौति गराएको आरोप लगाइएको छ ।
श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा आएर आफ्नो स्पष्टीकरण दिएकी हुन् । स्वास्थ्य बिमा बोर्डमा आफ्नो निरन्तरतालाई लिएर श्रीमानलाई जोड्नु आवश्यक नभएको उनको टिप्पणी छ ।
श्रीमान र आफूसँग एकपटक पनि स्पष्टीकरण नसोधि कारबाही गरिएको गुनासो श्रेष्ठले गरेकी छन् । ७ मिनेटको भिडिओमा श्रेष्ठले आफ्नो योग्यता र उपलब्धीको फेहरिस्त प्रस्तुत गरेकी छन् ।
उनको भनाई जस्ताको तस्तैः
हालै आइरहेको स्वास्थ्य बीमा बोर्डमा मेरो पुनर्नियुक्तिको कुराको बारेमा प्रष्ट रूपमा आफ्नो कुरा राख्न चाहन्छु । यहाँ र मेरो पृष्ठभूमि थाहा नभएर पनि नानाथरि कुराहरू उठिरहेको हुन सक्छ भन्ने लागेर म त्यसबारे पनि केही भन्न चाहन्छु ।
म टिचिङ हस्पिटल, त्रिभुवन विश्वविद्यालयबाट अप्टोमेट्रीमा स्नातक पढेको हुँ । त्यस विषयमा स्नातक तहमा म त्यहाँको स्वर्ण पदक विजेता थिएँ । त्यसपछि मैले अस्पतालमा काम गरेँ, क्लिनिकमा पनि काम गरेँ । त्यस लगत्तै मैले फेरि जनस्वास्थ्यमा स्नातकोत्तर गरेँ, जसमा पनि म स्वर्ण पदक विजेता नै हुँ ।
सोपश्चात मैले मातृ तथा बाल स्वास्थ्य र प्रजनन स्वास्थ्य सम्बन्धित विभिन्न संस्थाहरूमा काम गरेँ । कोभिड सम्बन्धित कामहरू पनि गरेँ ।
२०२० मा म युके सरकारको छात्रवृत्तिबाट लन्डन स्कूल अफ इकोनोमिक्स एन्ड पोलिटिकल साइन्स र लन्डन स्कूल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनमा अध्ययन गर्न गएँ ।
मैले त्यहाँ स्वास्थ्य नीति, योजना र वित्तमा एमएससी अध्ययन गरेँ । त्यस क्रममा मैले विभिन्न देशका स्वास्थ्य प्रणालीहरूको अध्ययन गरेँ।
मैले परामर्शदाताका रूपमा थाइल्याण्डको स्वास्थ्य प्रणाली मूल्याङ्कन गरेको छु । त्यसैगरी अक्सफोर्ड विश्वविद्यालयसँग मिलेर कोभिड अनुसन्धान पनि गरेको छु । मेरो दुवै स्नातकोत्तर अध्ययनका थेसिसहरूमा स्वास्थ्य बीमा सम्बन्धी अनुसन्धान गरेको छु । नेपाल फर्किएपछि पनि म यस विषयमा पठनपाठन गराइरहेको छु ।
स्वास्थ्य बीमा बोर्डमा मेरो नियुक्ति २०८० मङ्सिरमा भएको हो । त्यहाँ मैले आफूले पढेको र अध्ययन गरेको कुरा कार्यान्वयन गर्न सक्छु भन्ने सोचेको थिएँ । त्यहाँ काम गर्दा धेरै राजनीतिक कुराहरू पनि आए । म युवा थिएँ र त्यतिबेला गर्भवती पनि थिएँ । पछि म फेरि लन्डन गएँ । त्यहाँ बस्दा बोर्डको बैठकमा उपस्थित हुन सकिनँ । तर मैले पूर्ण रूपमा जानकारी गराएर नै अनुपस्थित भएको थिएँ ।
पहिला तीनवटा बैठकमा मैले अनलाइन सहभागी भएर आफ्नो राय दिएको थिएँ । चौथो बैठकमा प्राविधिक समस्याका कारणले म्युट भएर बोल्न पाइनँ । पछि हरेक बैठकमा मैले आफ्नो अनुपस्थितिको कारण जानकारी गराएँ । तर पछि इमेल संवाद पनि रोकियो।
करिब १०० दिन पनि पुगेको छैन, मैले पुनः निरन्तरता दिन इच्छा व्यक्त गरेँ । वेबसाइटमा पनि मेरो नाम बोर्ड सदस्यका रूपमा कायम थियो । त्यसैले मैले अझै योगदान गर्न सक्छु भन्ने सोचेर आफ्नो रुचि देखाएको थिएँ ।
म अहिले विश्व स्वास्थ्य संगठनको नागरिक समाज आयोगको स्टीयरिङ कमिटी सदस्य पनि हुँ । मैले विश्व स्वास्थ्य सभा र कार्यकारी बोर्ड बैठकमा आफ्नो कार्यालयको प्रतिनिधित्व गर्दै आएको छु । त्यहाँ म आँखा स्वास्थ्यको वकालत गर्दै आएको छु । मैले घरेलु स्वास्थ्य वित्तसम्बन्धी प्रस्तावमा पनि मन्त्रालयलाई सुझाव दिएको थिएँ ।
मेरो काम, जागिरले मलाई आवश्यक सबै दिएको छ । तर मेरो रुचि वित्त र अर्थशास्त्रमा भएकाले म यस क्षेत्रमा योगदान दिन चाहन्छु ।
मलाई बोर्ड बैठकमा बोलाइयो र म गएँ । तर अहिले भइरहेको घटनामा मेरो पतिलाई जोडिनु उचित होइन । हामीले समाजमा महिलाहरू सधैँ कसैको सहारामा मात्र अगाडि बढ्छन् भन्ने सोच हटाउनुपर्छ । अहिले पनि यस्तो सोच हाम्रो समाजमा छ ।
अन्त्यमा, बिनाकुनै स्पष्टीकरण पदमुक्त गरिनु र मलाई सोधनी पनि नहुनु दुःखद छ । यदि यसलाई नै सुशासन भनिन्छ भने, सुशासन के हो भन्ने पुनः सोच्नुपर्ने अवस्था आएको छ ।





