जुम्ला । तातोपानी गाउँपालिकाको अर्गानिक दिवा खाजा कार्यक्रम अब अरू पालिकाका लागि लर्निङ हब बन्न थालेको छ। यही सफल अभ्यास बुझ्न सुर्खेतको बराहताल गाउँपालिकाको एक टोली जुम्ला पुगेर अनुभव साटासाट गरेको छ ।

स्थानीय उत्पादनमा आधारित अर्गानिक दिवा खाजालाई संस्थागत गर्दै आएको तातोपानीले कर्णालीका ७९ स्थानीय तहमध्ये पहिलो पटक यस्तो मोडेल लागू गरेको हो ।
विद्यालय तह बाटै पोषण सुधार र विद्यार्थीको पहुँच वृद्धि गर्ने लक्ष्य सहित सुरु गरिएको कार्यक्रम अहिले परिणाममुखी देखिएको छ।
हाल तातोपानीका २९ वटा सामुदायिक विद्यालयमा अध्ययनरत करिब २ हजार ५ सय ८५ विद्यार्थीले दैनिक अर्गानिक दिवा खाजा पाइरहेका छन् । पहिले अव्यवस्थित रूपमा सञ्चालन हुने खाजा कार्यक्रमलाई पालिकाले पूर्णरूपमा सुधार गर्दै स्थानीय उत्पादनमै आधारित बनाएको छ।
नमुना भान्साघर निर्माण, आवश्यक भाँडावर्तन उपलब्धता र कर्मचारीलाई तालिम दिएर कार्यक्रमलाई व्यवस्थित गरिएको छ।
यो पहलले विद्यालय मात्र होइन, स्थानीय अर्थतन्त्रलाई समेत चलायमान बनाएको छ ।
सहकारीमार्फत किसानबाटै कृषि उपज संकलन गरी विद्यालयमा आपूर्ति गरिँदा गाउँकै उत्पादन गाउँमै खपत हुने अवस्था सिर्जना भएको छ। यसले किसानको आयस्तर बढाउनुका साथै कृषि प्रति आकर्षण पनि बढाएको छ ।
तातोपानीको यही सफल मोडेल अध्ययन गर्न बराहताल गाउँपालिकाका अध्यक्ष भीमबहादुर भण्डारी, उपाध्यक्ष लक्ष्मीपुन मगर सहित ६ सदस्यीय टोली जुम्ला पुगेको हो ।
टोलीले कार्यक्रम सञ्चालन प्रक्रिया, चुनौती र उपलब्धि बारे विस्तृत छलफल गरेको छ ।
कार्यक्रममा तातोपानीका शिक्षा शाखा प्रमुख सुरत शाहीले सबै विद्यालयमा अर्गानिक दिवा खाजा कार्यक्रमको प्रगति र प्रभावबारे प्रस्तुति दिएका थिए।
राष्ट्रलाई स्वस्थ र दक्ष जनशक्ति दिन आधारभूत तहबाटै पोषणमा लगानी गर्नु पर्ने उनकाे भनाइ छ ।
तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर चन्दले सफल अभ्यासको आदान–प्रदानलाई निरन्तरता दिनुपर्ने बताए ।
उनका अनुसार, हाम्रो काम अरूका लागि सिकाइ बनेको छ, अब अझ व्यवस्थित र प्रभावकारी बनाउने जिम्मेवारी बढेको चन्दकाे भनाइ छ ।
बराहताल गाउँपालिका अध्यक्ष भण्डारीले तातोपानीको प्रयास कर्णालीका सबै पालिकाका लागि अनुकरणीय रहेको उल्लेख गरे । स्थानीय उपजमा आधारित दिवा खाजा कार्यक्रमले तातोपानी लाई छुट्टै पहिचान दिएको उनकाे भनाइ छ ।
यस्तै तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईंले आफू निर्वाचित भएदेखि शिक्षा सुधारलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।
उनका अनुसार, पहिले विद्यालयको अवस्था कमजोर थियो, दिवा खाजा कार्यक्रम पारदर्शी र व्यवस्थित थिएन, अब हामी विश्व खाद्य कार्यक्रमसँग सहकार्य गर्दै दिगो र व्यवस्थित अर्गानिक खाजा प्रणाली निर्माणतर्फ अघि बढिरहेकाे बताए ।





