नेपालको राजनीतिक इतिहासमा केही निर्णयहरू यस्ता हुन्छन्, जसले केवल एउटा संगठन भित्रको व्यवस्थापनात्मक विषयलाई मात्र होइन समग्र राजनीतिक संस्कृतिलाई नै बहसको केन्द्रमा ल्याउने गर्छन । नेकपा (एमाले) द्वारा पूर्वराष्ट्रपति तथा पार्टीकी पूर्वउपाध्यक्ष बिद्या भण्डारीको पार्टी सदस्यता नवीकरण अर्थात फुकुवा गर्ने निर्णय पनि त्यस्तै एउटा राजनीतिक घटना बनेको छ ।
यो विषय केवल एउटा नेताको सदस्यताको प्रश्नमा सीमित छैन यसले एमाले भित्रको शक्ति सन्तुलन, नेतृत्व शैली, संगठनात्मक संस्कार, वैचारिक सहिष्णुता र भविष्यको दिशामाथि गम्भीर बहस सुरु गराएको छ ।
नेपालको कम्युनिष्ट आन्दोलनको इतिहास हेर्दा एमाले केवल एउटा राजनीतिक दल होइन, लामो संघर्ष, त्याग, वैचारिक आन्दोलन र संगठनात्मक अनुशासनबाट निर्माण भएको शक्ति हो ।
यही पार्टीले बहुदलीय जनवादको अवधारणा स्थापित गर्यो, लोकतान्त्रिक आन्दोलनमा निर्णायक भूमिका खेल्यो र जनतामाझ बलियो राजनीतिक प्रभाव निर्माण गर्यो । तर समयसँगै पार्टीभित्र नेतृत्व, शक्ति र प्रभावको केन्द्रिकरण बढ्दै जाँदा आन्तरिक लोकतन्त्र, वैचारिक बहस र कार्यकर्ता संस्कृतिमा देखिएका कमजोरीहरू पनि क्रमशः सतहमा आउन थालेका छन । बिद्या भण्डारीको सदस्यता विवादले त्यही गहिरिँदो मनोविज्ञानलाई पुनः सार्वजनिक बहसमा ल्याएको हो ।
पूर्वराष्ट्रपति बिद्या भण्डारी एमाले राजनीतिमा कुनै सामान्य नाम होइन । भूमिगत संघर्ष देखि जनआन्दोलनसम्म, मदन भण्डारीको राजनीतिक यात्रा देखि पार्टी संगठन निर्माण सम्म, उनको योगदान एमाले इतिहाससँग प्रत्यक्ष जोडिएको छ । राष्ट्रपति पदमा पुगेपछि उनी संवैधानिक भूमिकामा सीमित भइन तर एमाले सँगको उनको राजनीतिक र भावनात्मक सम्बन्ध कहिल्यै विच्छेद भएको थिएन । यही कारण उनले पुनः पार्टी सदस्यता नवीकरण गर्न खोज्दा त्यसले स्वाभाविक रूपमा ठूलो राजनीतिक अर्थ बोकेको थियो ।
तर यो प्रक्रियालाई सहज रूपमा व्यवस्थापन गर्न सकिएन। एकातिर राष्ट्रपतिको गरिमामय संस्थालाई दलगत राजनीति भन्दा माथि राख्नुपर्ने तर्क आयो । अर्को पक्षले भने बिद्या भण्डारीको राजनीतिक पृष्ठभूमि, पार्टी निर्माणमा उनको योगदान र एमालेप्रतिको निरन्तर प्रतिबद्धतालाई आधार बनाएर सदस्यता नवीकरण स्वाभाविक भएको दाबी गर्यो। यही विवादले एमाले भित्र लुकेका मनोवैज्ञानिक दूरी, शक्ति सन्तुलनको असहजता र नेतृत्व बीचको अविश्वासलाई सतहमा ल्यायो ।
एमालेको विधान महाधिवेशन देखि केन्द्रीय कमिटी बैठक सम्म देखिएका घटनाले पनि यही संकेत गरे । फरक मत राख्ने नेताहरूलाई पर्याप्त स्थान नदिइएको आलोचनात्मक धारलाई व्यवस्थापन भन्दा नियन्त्रण गर्न खोजिएको तथा वैचारिक बहसलाई संस्थागत रूपमा कमजोर बनाइएको आरोप व्यापक रूपमा उठे । कर्णबहादुर थापा जस्ता नेताहरूले सम्मेलन हलमै फरक दृष्टिकोण राख्दा असहज व्यवहार भोग्नुपरेको चर्चा भयो । महाधिवेशन प्रतिनिधि चयनमा समेत गुटीय प्रभाव हावी भएको आरोपले संगठनभित्र असन्तोष थप बढायो ।
राजनीतिक दलको शक्ति केवल चुनावी नतिजामा सीमित हुँदैन । त्यो संगठनको आन्तरिक संस्कार, नेतृत्वको व्यवहार, कार्यकर्ता प्रतिको सम्मान र विचार माथिको खुलापनमा आधारित हुन्छ । एमालेको शक्ति पनि कुनै एक नेताको व्यक्तिगत प्रभावबाट निर्माण भएको होइन । हजारौं कार्यकर्ताको त्याग, भूमिगत जीवन, जेलयात्रा, संघर्ष र संगठन निर्माणको कठिन यात्राले यो पार्टीलाई यहाँ सम्म ल्याएको हो । तर पछिल्लो समय पार्टी भित्र वास्तविक योगदान भन्दा पहुँच, चाकडी, आर्थिक प्रभाव र व्यक्तिगत निष्ठालाई प्राथमिकता दिन थालिएको गुनासो कार्यकर्ता तहमा बढ्दै गएको छ ।
हिजो भूमिगत कालमा पार्टीका नेताहरूलाई आश्रय दिने, गास–बासको व्यवस्था गर्ने, जनस्तरमा संगठन विस्तार गर्ने कार्यकर्ताहरू आज क्रमशः किनारामा परिरहेको अनुभूति धेरै पुराना एमाले कार्यकर्तामा देखिन्छ । पार्टीभित्र विचार भन्दा ‘को कुन नेताको नजिक छ’ भन्ने आधारमा अवसर वितरण हुन थालेको आरोपले संगठनात्मक मनोबल कमजोर बनाएको छ । यही प्रवृत्तिले धेरै इमानदार कार्यकर्तालाई निराश, निष्क्रिय र पलायन तर्फ धकेलेको अनुभूति भइरहेको छ ।
यसको प्रत्यक्ष असर पार्टी र जनताबीचको सम्बन्धमा पनि देखिन थालेको छ । जनतासँग प्रत्यक्ष संवाद कमजोर हुँदै जानु संगठनहरू केवल औपचारिक संरचनामा सीमित हुनु तथा पार्टी गतिविधि जनजीवन भन्दा सत्ताकेन्द्रित बन्नु एमालेका लागि चुनौतीपूर्ण बन्दै गएको छ । चुनावी परिणामहरूले पनि जनतामा बढ्दो असन्तुष्टि र दूरीको संकेत दिइरहेका छन । यथार्थलाई स्वीकार गरेर आत्मसमीक्षा गर्नु भन्दा आलोचनात्मक आवाजलाई कमजोर पार्ने प्रवृत्तिले समस्या झन जटिल बनाउने खतरा हुन्छ ।
यही सन्दर्भमा बिद्या भण्डारीको सदस्यता फुकुवालाई धेरैले केवल व्यवस्थापनात्मक निर्णय होइन, सम्भावित राजनीतिक सुधारको अवसरका रूपमा पनि हेरेका छन । यदि यसलाई शक्ति सन्तुलनको रणनीति मात्र नभएर पार्टी भित्र संवाद, सहकार्य र पुनर्सन्तुलनको संकेतका रूपमा अघि बढाउन सकियो भने एमालेले पुनः आफ्नो संगठनात्मक ऊर्जा फर्काउन सक्छ । तर यदि यो निर्णय केवल तत्कालीन शक्ति समीकरण मिलाउने साधनमा सीमित रह्यो भने भविष्यमा अझ ठूलो आन्तरिक असन्तुलन उत्पन्न हुने जोखिम रहन्छ ।
राजनीतिमा मतभेद स्वाभाविक प्रक्रिया हो । लोकतान्त्रिक दलभित्र फरक विचार, रणनीतिक दृष्टिकोण र नेतृत्व शैली बीच बहस हुनु स्वस्थ राजनीतिक संस्कृतिको संकेत हो । समस्या तब सुरु हुन्छ, जब संवादको ठाउँ कमजोर बन्छ र मतभेदलाई प्रतिस्पर्धात्मक मनोविज्ञानले प्रतिस्थापन गर्न थाल्छ । एमाले भित्र पछिल्ला वर्षहरूमा देखिएको अवस्था पनि यही मनोविज्ञानको परिणामका रूपमा बुझ्न सकिन्छ ।
केपी शर्मा ओली र बिद्या भण्डारी दुवै एमाले राजनीतिका प्रभावशाली स्तम्भ हुन । ओली लामो समय देखि पार्टी नेतृत्वको केन्द्रमा छन भने बिद्या भण्डारीले राष्ट्रपतिको जिम्मेवारी सम्हालेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा छुट्टै राजनीतिक छवि निर्माण गरेकी छन । दुवै नेताको राजनीतिक प्रभाव, समर्थक समूह र संगठनात्मक पहुँच फरक–फरक स्वरूपमा रहेको छ । यही प्रभावको असन्तुलनले कहिलेकाहीँ दूरी र असहजता पैदा गरेको अनुभूति एमाले वृत्तमा हुने गरेको छ ।
तर यहाँ महत्त्वपूर्ण कुरा के हो भने एमालेको भविष्य कुनै दुई व्यक्तिबीचको दूरी वा निकटताले मात्र निर्धारण हुँदैन । पार्टीको दीर्घकालीन शक्ति सामूहिक नेतृत्व, संस्थागत निर्णय प्रक्रिया र आन्तरिक लोकतान्त्रिक संस्कृतिमा निर्भर हुन्छ । जब पार्टी भित्र संवाद कमजोर हुन्छ, त्यहाँ गुटीय मानसिकता, शंका र अविश्वास बढ्न थाल्छ । इतिहासले देखाएको छ । राजनीतिक दलहरू बाह्य चुनौती भन्दा बढी आन्तरिक असन्तुलनका कारण कमजोर हुने गरेका छन ।
नेपालको कम्युनिष्ट आन्दोलनमा विभाजन र पुनःएकताको इतिहास लामो छ । विचार भन्दा व्यक्ति केन्द्रित राजनीति हावी हुँदा पार्टीहरू कमजोर बनेका उदाहरण धेरै छन । एमालेले पनि विभिन्न संकटहरूको सामना गरेको छ । तर प्रत्येक संकट पछि पार्टीलाई पुनः उभ्याउने शक्ति संवाद, संगठन र साझा उद्देश्य नै बनेको थियो । अहिले पनि त्यही आत्मालाई पुनर्जीवित गर्न सकिए मात्र एमालेले आफ्नो राजनीतिक विश्वसनीयता बलियो बनाउन सक्छ ।
पछिल्लो समय सामाजिक सञ्जालले पनि राजनीतिक सम्बन्धलाई झन् जटिल बनाएको छ । नेता भन्दा समर्थक हरू बढी आक्रामक देखिने प्रवृत्ति बढेको छ । सामान्य अभिव्यक्तिलाई पनि अतिरञ्जित गरेर प्रस्तुत गर्ने, एकअर्का विरुद्ध नकारात्मक प्रचार गर्ने तथा भावनात्मक ध्रुवीकरण सिर्जना गर्ने प्रवृत्तिले नेतृत्व तहको दूरी झन बढाउने खतरा हुन्छ । यस्तो अवस्थामा जिम्मेवार नेतृत्वले आफ्ना समर्थकलाई संयमित बनाउने भूमिका खेल्न सक्नुपर्छ ।
ओली र बिद्या भण्डारी बीच सम्बन्ध सुधारको पहिलो आधार संवाद नै हुन सक्छ । राजनीतिमा मौनता धेरै पटक गलतफहमीको स्रोत बन्ने गर्छ । अनौपचारिक भेटघाट, आत्मीय छलफल र साझा विषयमा सहकार्यले सम्बन्ध सुधारको वातावरण तयार गर्न सक्छ । सार्वजनिक रूपमा एकअर्काप्रति सम्मानजनक अभिव्यक्ति दिनु पनि विश्वास पुनर्निर्माणको सकारात्मक संकेत बन्न सक्छ ।
दोस्रो, साझा राजनीतिक इतिहासलाई पुनः स्मरण गर्नु आवश्यक छ । मदन भण्डारीको वैचारिक मार्गदर्शन, लोकतान्त्रिक आन्दोलनका संघर्षपूर्ण दिन, संगठन विस्तारको यात्रा र एमाले निर्माणको अभियानमा दुवै नेताको महत्त्वपूर्ण भूमिका रहेको छ । त्यो साझा इतिहास केवल स्मृतिको विषय होइन; भविष्य निर्माणको आधार पनि बन्न सक्छ ।
तेस्रो, पार्टी हितलाई व्यक्तिगत स्वार्थ भन्दा माथि राख्न सक्नुपर्छ । कुनै पनि ठूलो राजनीतिक दल व्यक्तिगत सम्बन्धको उतारचढावमा टिक्न सक्दैन । संस्थागत निर्णय प्रक्रिया, सामूहिक नेतृत्व र खुला बहसको संस्कृतिलाई बलियो बनाउन सके धेरै समस्या स्वतः समाधान हुन सक्छन । एमाले जस्तो ठूलो दलका लागि आन्तरिक एकता केवल संगठनात्मक आवश्यकता मात्र होइन, राष्ट्रिय राजनीतिक स्थिरता सँग पनि जोडिएको विषय हो ।
नेपालको वर्तमान राजनीतिक अवस्था पनि परिपक्व सहकार्यको माग गरिरहेको छ । जनतामा राजनीतिक नेतृत्वप्रति बढ्दो निराशा, दलहरू प्रतिको अविश्वास र अस्थिरताको चिन्ता बीच प्रमुख दलभित्रको आन्तरिक विवादले नकारात्मक सन्देश दिन्छ । यस्तो अवस्थामा एमाले भित्र सहकार्य, सहमति र संयमको वातावरण बन्न सके त्यसले राष्ट्रिय राजनीतिमा पनि सकारात्मक प्रभाव पार्न सक्छ ।
राजनीति स्थायी मित्रता वा स्थायी शत्रुताको क्षेत्र होइन । समय, परिस्थिति र आवश्यकता अनुसार सम्बन्धहरू पुनःपरिभाषित हुने गर्छन । त्यसैले ओली र बिद्या भण्डारी बीचको सम्बन्धलाई केवल प्रतिस्पर्धा वा दूरीको दृष्टिले मात्र हेर्नु उचित हुँदैन । दुवै नेतामा लामो राजनीतिक अनुभव, संगठन निर्माणको क्षमता र राष्ट्रिय जिम्मेवारीको बोध छ । यही परिपक्वताले सम्बन्धलाई नयाँ ढंगले अघि बढाउने सम्भावना पनि जीवित राख्छ ।
आज आवश्यकता आरोपको होइन, आत्मसमीक्षाको हो । कटु अभिव्यक्तिको होइन संवादको हो । शक्ति प्रदर्शनको होइन, सहकार्यको हो । यदि एमाले नेतृत्वले व्यक्तिगत असहजता भन्दा राजनीतिक जिम्मेवारीलाई प्राथमिकतामा राख्न सक्यो भने अहिलेको दूरीलाई सहमतिमा बदल्न धेरै समय लाग्ने छैन ।
अन्ततः, इतिहासले त्यही नेतृत्वलाई सफल मान्छ, जसले मतभेदलाई विभाजन होइन, सहमतिमा बदल्न सक्छ । ओली र बिद्या भण्डारी बीचको सम्बन्ध यदि सम्मान, संवाद र साझा उद्देश्यतर्फ अघि बढ्न सक्यो भने त्यसले एमाले लाई मात्र होइन, समग्र नेपाली राजनीतिलाई परिपक्वताको नयाँ सन्देश दिनेछ । साथै योग्य, इमानदार र योगदानमुखी कार्यकर्तालाई पुनः संगठनको केन्द्रमा ल्याएर पार्टी पुनर्गठनको दिशा तय गर्न सकियो भने एमालेले फेरि जनताको मनमा आफ्नो पुरानो विश्वास पुनर्स्थापित गर्न सक्नेछ ।






