मुगु । मुगु जिल्लाको दुर्गम बस्तीमा रहेका बालबालिकालाई लक्षित गर्दै समाजसेवी तथा पूर्वधावक अकल बोहराले शैक्षिक सामग्री वितरण गरेका छन् ।

कर्णाली प्रदेश बाट पहिलो पटक सगरमाथा आरोहण गर्न सफल बोहराले छायाँनाथ रारा नगरपालिका–१२ स्थित कम्फा गाउँको जनजागृति आधारभूत विद्यालयका विद्यार्थीलाई सामग्री वितरण गरेका हुन् ।
हाल स्पेनको कोस्टामा बसोबास गर्दै आएका बोहराले आफ्नी आमाको सम्झनामा विद्यालयका ३५ जना विद्यार्थीलाई कापी, कलम, झोला लगायतका आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् ।
सदरमुकाम गमगढी देखि निकै टाढा रहेको कम्फा गाउँ भौगोलिक रूपमा विकट मानिन्छ । यहाँका अधिकांश परिवार आर्थिक रूपमा कमजोर रहेका कारण बालबालिकाको पढाइमा विभिन्न समस्या हुने गरेको छ ।
स्थानीयवासीका अनुसार अकल बोहराले यस अघि पनि गाउँमा विभिन्न सामाजिक सहयोग गर्दै आएका छन् । शिक्षा, स्वास्थ्य तथा विपन्न परिवारलाई सहयोग पुर्याउँदै आएका कारण स्थानीयले उनलाई जिउँदो भगवान रूपमा हेरेका छन् ।
विद्यालयका शिक्षक तथा अभिभावकले विकट क्षेत्रमा रहेका विद्यार्थीका लागि गरिएको सहयोगले बालबालिकामा पढाइप्रति उत्साह थपिएको बताएका छन् ।





