जुम्ला । तातोपानी गाउँपालिकामा वैदेशिक रोजगारी बाट फर्किएका व्यक्तिहरूलाई लक्षित गर्दै सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ।

देशमै रोजगारी गरौ, वैदेशिक रोजगारीमा जानै परे सही सूचना लिएर र सीप सिकेर मात्र जाऔं” भन्ने मूल नारा सहित आयोजित कार्यक्रमले वैदेशिक रोजगारीका अवसर, चुनौती तथा स्वदेशमै उद्यमशीलता विकासका विषयमा सहभागीलाई जानकारी गराएको छ।
गाउँपालिकाको रोजगार सेवा केन्द्रको आयोजनामा सम्पन्न कार्यक्रममा वैदेशिक रोजगारीका क्रममा भोग्नुपर्ने कानुनी, सामाजिक तथा आर्थिक पक्षबारे विस्तृत छलफल गरिएको थियो ।
कार्यक्रममा सहभागी भएका वैदेशिक रोजगार बाट फर्किएका युवायुवती तथा अभिभावकलाई सुरक्षित आप्रवासन, श्रम स्वीकृति, वैदेशिक रोजगारीका जोखिम, सीप विकास तथा स्वरोजगारका सम्भावना बारे अभिमुखीकरण प्रदान गरिएको थियो ।
अध्यक्ष नन्द प्रसाद चौलागाईंले वैदेशिक रोजगारी बाट फर्किएका नागरिकको अनुभव र सीपलाई गाउँको विकासमा उपयोग गर्नुपर्ने बताए । उनले विदेशमा आर्जन गरेको सीप, ज्ञान र पुँजीलाई कृषि, पर्यटन, पशुपालन तथा साना उद्यममा लगानी गर्न सके स्थानीय स्तरमै रोजगारी सिर्जना हुने धारणा राखे ।
अध्यक्ष चौलागाईंले भने, वैदेशिक रोजगारी बाट फर्किएका युवाहरू केवल श्रमिक मात्र होइनन्, उनीहरू अनुभव र सीपका भण्डार हुन् । विदेशमा सिकेको ज्ञानलाई उत्पादन र उद्यम सँग जोड्न सके गाउँको आर्थिक समृद्धिमा ठूलो योगदान पुग्ने बताए ।
सहभागीहरूले वैदेशिक रोजगारीका क्रममा भोगेका अनुभवहरू आदानप्रदान गर्दै विदेशमा ठगी, शोषण र विभिन्न समस्याबाट बच्न सही सूचना तथा कानुनी प्रक्रियाको पालना आवश्यक रहेको बताएका थिए ।
गाउँपालिकाले रोजगारी सिर्जना, सीपमूलक तालिम र उद्यम विकासका कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने सुझाव पनि दिएका छन् ।
कार्यक्रमले वैदेशिक रोजगारी बाट फर्किएका व्यक्तिहरूलाई पुनः एकीकरण, आर्थिक सशक्तीकरण तथा स्वरोजगारतर्फ प्रेरित गर्ने विश्वास लिइएको छ ।





