जुम्ला । जुम्लामा उत्पादन हुने स्याउ अहिले किसानको जीवन बदल्ने प्रमुख आम्दानीको स्रोत बनेको छ । आर्थिक वर्ष २०८१/०८२ मा जिल्लामा ९ हजार ३ सय ३१ मेट्रिक टन स्याउ उत्पादन हुँदा करिब ६६ करोड ३१ लाख रुपैयाँ आम्दानी भएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।

हिमालको काखमा हुर्किएको जुम्लाको स्याउ स्वाद, गुणस्तर र अर्गानिक उत्पादनका कारण देशभर लोक प्रिय छ । कुनै समय खाद्यान्न अभाव झेल्ने जुम्लाका धेरै परिवार आज स्याउ खेतीकै भरमा छोरा छोरी पढाउने, घरखर्च चलाउने र भविष्यका सपना बुन्ने अवस्थामा पुगेका छन् ।
कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार जिल्लाको कृषि अर्थतन्त्रमा स्याउको योगदान सबैभन्दा ठूलो रहेकाे बताए । स्याउ पछि सिमी बिक्री बाट पनि किसानले राम्रो आम्दानी गरिरहेका छन् । उनले जुम्लाको हावापानी, उचाइ र जैविक उत्पादन प्रणालीले यहाँको स्याउलाई विशेष बनाएको प्रमुख अधिकारीले बताए ।
जुम्लामा स्याउ खेतीको इतिहास झन्डै छ दशक पुरानो मानिन्छ । विसं २०२३ साल तिर सरकारी पहलमा चन्दननाथ क्षेत्रमा पहिलो पटक स्याउका बिरुवा लगाइएका थिए । त्यसबेला धेरैले हिमाली क्षेत्रमा फलफूल खेती सफल हुन्छ भन्ने विश्वास गरेका थिएनन् ।
तर समय सँगै ती बिरुवाले फल दिन थाले पछि किसानको आकर्षण बढ्दै गएकाे थियाे । आज चन्दननाथ, तातोपानी, गुठिचौर, पातारासी, कनकासुन्दरी, तिला र हिमा गाउँपालिका सहित जिल्लाका अधिकांश क्षेत्रमा स्याउ खेती फैलिएको छ ।
एक समय जुम्लाको पहिचान केवल मार्सी धान सँग जोडिन्थ्यो । अहिले भने स्याउले जिल्लाको नयाँ परिचय बनाएको छ । हरेक वर्ष भदौ देखि कात्तिक सम्म स्याउ बगैचामा किसानको चहलपहल बढ्ने गर्छ । रातो र हरियो रङका स्याउले ढाकिएका बगैचा पर्यटकका लागि समेत आकर्षणको केन्द्र बन्ने गरेका छन् ।
गुठिचौर गाउँपालिका–३ का स्थानीय कृषक बिस्ने रावल स्याउ खेती बाट जीवनमा आएको परिवर्तनको उदाहरण हुन् । उनले गत आर्थिक वर्षमा मात्र स्याउ बिक्री गरेर ३ देखि ४ लाख रुपैयाँ आम्दानी गरेको बताए ।
पहिला वर्ष भरि घरखर्च चलाउन पनि गाह्रो हुन्थ्यो। अहिले स्याउ बिक्री बाट आएको पैसाले परिवारको खर्च धान्न, छोराछोरी पढाउन र अन्य आवश्यक काम गर्न सहज भएको उनकाे भनाइ छ ।
यद्यपि जुम्लाका स्याउ किसानले अझै विभिन्न चुनौती सामना गरिरहेका छन् । समयमा बजार नपुग्दा स्याउ बिग्रिने, भण्डारणको अभाव, ढुवानी खर्च महँगो हुनु, सडक अवरुद्ध हुनु तथा जलवायु परिवर्तनका असरले उत्पादनमा उतारचढाव आउने समस्या यथावत् छन् ।
किसानहरू उत्पादन बढे पनि उचित मूल्य र सुरक्षित बजार व्यवस्थापनको आवश्यकता रहेको बताउँछन् । स्याउ प्रशोधन केन्द्र, कोल्ड स्टोर र व्यवस्थित बजार प्रणालीको विकास गर्न सके जुम्लाको स्याउले अझ ठूलो आर्थिक आम्दानी गर्न सक्ने कृषि विज्ञकाे भनाइ छ ।
स्थानीय सरकारले पनि स्याउलाई जिल्लाको आर्थिक समृद्धिको आधारका रूपमा अघि बढाउँदै विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । कहिल्यै नथाक्ने किसानका हात, हिमालको चिसो हावा र वर्षौ देखिको मेहनतको परिणाम आज जुम्लाको स्याउ बनेको छ ।





