जुम्ला । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति जुम्लाले आगामी भदौ ७ गतेदेखि १६ गतेसम्म जुम्लामा वृहत् कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव आयोजना गर्ने घोषणा गरेको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलन मार्फत प्रतिष्ठानले महोत्सवको औपचारिक जानकारी सार्वजनिक गरेको हो।
प्रतिष्ठानका अध्यक्ष विश्वराज खत्रीले जुम्लाको कृषि उत्पादन, पर्यटन सम्भावना, स्थानीय व्यापार तथा मौलिक कला संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए । उनका अनुसार महोत्सवमा जुम्लाका स्थानीय कलाकारसँगै राष्ट्रियस्तरका चर्चित कलाकारहरूको सांगीतिक प्रस्तुति रहनेछ ।

महोत्सव अवधिभर स्थानीय कृषि उपज, हस्तकला, उद्यमशीलता तथा पर्यटनसँग सम्बन्धित स्टलहरू सञ्चालन गरिनेछन । साथै लोकदोहोरी, देउडा, सांस्कृतिक कार्यक्रम तथा अन्य मनोरञ्जनात्मक प्रस्तुतिमार्फत स्थानीय कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गरिने लक्ष्य राखिएको प्रतिष्ठानले जनाएको छ ।
अध्यक्ष खत्रीका अनुसार टिकट बिक्रीबाट संकलन हुने रकम महोत्सव व्यवस्थापन, कलाकारको पारिश्रमिक, मञ्च निर्माण, प्राविधिक व्यवस्थापन तथा अन्य आवश्यक खर्चमा उपयोग गरिनेछ ।
उद्योग वाणिज्य संघको महोत्सवप्रति प्रतिष्ठानको आपत्ति
पत्रकार सम्मेलनमा प्रतिष्ठानले जुम्ला उद्योग वाणिज्य संघले साउन २२ गतेदेखि भदौ ५ गतेसम्म आयोजना गर्ने घोषणा गरेको महोत्सवप्रति आपत्ति जनाएको छ । प्रतिष्ठानले उक्त महोत्सव सम्बन्धित सरकारी निकायबाट आवश्यक स्वीकृति र अनुमति नलिई आयोजना गर्न लागिएको दाबी गरेको छ ।
प्रतिष्ठानले आवश्यक कानुनी प्रक्रिया पूरा नगरी महोत्सव सञ्चालन गर्न नदिन सम्बन्धित निकायसँग आग्रह गर्दै, अनुमति बिना कार्यक्रम सञ्चालन गरिए कानुनी उपचारको बाटो अपनाइने चेतावनी दिएको छ ।
यस्तै, प्रतिष्ठानले आफ्नो मातहतमा आबद्ध कलाकारहरूलाई उद्योग वाणिज्य संघद्वारा आयोजना गरिने महोत्सवमा सहभागी हुन नदिने निर्णय समेत लिन सक्ने जनाएको छ । आवश्यक परे कानुनी प्रतिवाद समेत गरिने अध्यक्ष खत्रीले बताए ।
उता, जुम्ला उद्योग वाणिज्य संघले भने यस विषयमा हालसम्म कुनै औपचारिक धारणा सार्वजनिक गरेको छैन ।
दुवै संस्थाले फरक–फरक समयमा महोत्सव आयोजना गर्ने घोषणा गरेसँगै जुम्लामा सांस्कृतिक तथा व्यावसायिक गतिविधिलाई लिएर चासो बढेको छ । प्रतिष्ठानले भने आफ्नो महोत्सवलाई जुम्लाको कृषि, पर्यटन, व्यापार तथा मौलिक कला–संस्कृतिको प्रवर्द्धन गर्ने साझा अभियानका रूपमा सफल बनाउन स्थानीय सरकार, सरोकारवाला निकाय, व्यवसायी तथा आम नागरिकको सहयोगको अपेक्षा गरेको छ ।





