नेपालको राजनीतिक मानचित्रमा कर्णाली एउटा यस्तो भूगोल हो, जसले आफ्नो अस्तित्वका लागि राज्य सँग सबैभन्दा ठूलो विद्रोह गर्यो । संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा सँगै जब २०७२ सालमा सात प्रदेशको खाका कोरियो, त्यतिबेला कर्णालीका जिल्लाहरूलाई सुदूरपश्चिममा विलय गराउने प्रयास भएको थियो । तर कर्णालीले त्यो “डिजाईन”लाई स्वीकार गरेन । सुर्खेत देखि जुम्ला सम्म र हुम्ला देखि डोल्पासम्म उठेको आन्दोलनको आधिभेरी र जनआन्दोलनको ज्वारभाटाकै बलमा आजको कर्णाली प्रदेश स्थापित भएको हो। यो प्रदेश केवल प्रशासनिक इकाई मात्र होइन, बरु वर्षौँ देखिको उपेक्षा, गरिबी र विभेद विरुद्धको एउटा बलियो राजनीतिक ‘स्टेटमेन्ट’ हो ।

राजनीतिक अन्योल: केन्द्रको छाया र दास मनोवृत्ति कर्णाली प्रदेश स्थापनाको मुख्य उद्देश्य ‘काठमाडौं धाउनुपर्ने बाध्यताको अन्त्य’ र ‘स्वशासन’ थियो। नागरिकमा ठूलो अपेक्षा थियो कि अब आफ्नै आँगनमा सरकार हुनेछ र आफ्नै आवश्यकता अनुसार नीति बन्नेछन तर स्थापनाको केही वर्षमै कर्णालीको राजनीतिमा एउटा गम्भीर विचलन देखिएको छ ।
प्रदेश स्वायत्त निकाय भए पनि व्यवहारमा यो अझै पनि केन्द्रको राजनीतिक हलचलको “गोटि” बनिरहेको देखिन्छ । काठमाडौंमा समीकरण फेरिँदा सुर्खेतमा सरकार ढल्ने र बन्ने परम्पराले संघीयताको मर्म माथि नै प्रहार गरेको छ । नागरिकको चाहना र भावना भन्दा पनि दल र नेताको स्वार्थ हाबी हुनु र नेतृत्वमा अझै पनि “दास मनोवृत्ति” कायम रहनु कर्णालीको राजनीतिक संघर्षको एउटा दुःखद पाटो हो । स्वायत्तताको अभ्यास गर्नुपर्ने प्रदेश सरकारहरू केन्द्रको आदेश कुरेर बस्ने प्रवृत्तिले कर्णालीको विकासको गतिलाई मन्द बनाएको छ ।
पूर्वाधारको शून्य बिन्दु र भौगोलिक चुनौती कर्णालीले आफ्नो यात्रा ‘शून्य’ बाट सुरु गरेको थियो । मन्त्रालयका लागि न भवन थिए, न कर्मचारी, न त कुनै कानुनी आधार नै । नयाँ संरचना खडा गर्नु आफैँमा एउटा ठूलो प्रशासनिक युद्ध जित्नु सरह थियो । कर्णालीको सबैभन्दा ठूलो शत्रु र मित्र दुवै यसको भूगोल हो । हिमाली र पहाडी भूभाग, छरिएका बस्ती र कमजोर सडक सञ्जालले गर्दा यहाँ विकासका योजनाहरू अत्यन्त महँगो र जटिल हुने गरेका छन ।
अझै पनि धेरै बस्तीहरू राष्ट्रिय सडक सञ्जालबाट टाढा छन । वर्षामा पहिरो र हिउँदमा हिमपातले गर्दा यहाँको जनजीवन ठप्प हुने गर्दछ । सडक पुग्नु मात्र ठूलो कुरा होइन तर त्यो सडकलाई उत्पादन र बजार सँग जोड्न नसक्नु अर्को ठूलो कमजोरी हो । जबसम्म कर्णालीको सडकले यहाँको स्याउ, सिमी र जडीबुटी लाई बजार सम्म पुर्याउँदैन, तब सम्म त्यो सडक केवल धुलो उडाउने बाटो मात्र साबित हुनेछ ।
परिचयको संकट: ‘समस्या’ बाट ‘सम्भावना’ तर्फको संक्रमण लामो समय देखि राज्य र बाह्य जगतले कर्णालीलाई केवल ‘पिछडिएको, गरिब र भोकमरीको क्षेत्र’ का रूपमा मात्र चित्रण गरिरह्यो । यो एक प्रकारको “न्यारेटिभ” थियो जसले कर्णालीको आत्मविश्वासलाई सधैँ कमजोर बनायो तर सत्य यो हो कि कर्णाली केवल समस्याको थुप्रो होइन बरु यो अपार सम्भावनाको खानी हो ।
सिंजा सभ्यता नेपाली भाषा र संस्कृतिको उद्गम स्थल हो । रारा र शे-फोक्सुण्डो जस्ता प्राकृतिक उपहार, कर्णाली नदी प्रणाली, र बहुमूल्य जडीबुटी यहाँको आर्थिक मेरुदण्ड बन्न सक्छन । पछिल्ला वर्षहरूमा प्रदेश सरकारले विकासको बहसलाई ‘समस्या’ बाट ‘सम्भावना’ तर्फ लैजाने प्रयत्न त गरेको छ तर त्यो अझै पनि कागज र भाषणमा बढी सीमित देखिन्छ । कर्णालीलाई ‘पछाडि परेको प्रदेश’ भनिरहनु भन्दा ‘सम्भावनाको प्रदेश’ का रूपमा ब्रान्डिङ गर्नु नै आजको मुख्य आवश्यकता हो
सामाजिक क्षेत्रको कुरुप चित्र: स्वास्थ्य र शिक्षामा संघर्ष कर्णालीको स्वास्थ्य क्षेत्रको अवस्था अझै पनि हृदयविदारक छ । दुर्गम गाउँका गर्भवती महिला र बिरामी बालबालिकाले सामान्य उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्थाको पूर्ण अन्त्य हुन सकेको छैन । राजधानी सुर्खेतका अस्पतालमा उपकरण थपिएर मात्र स्वास्थ्य नीति सफल हुँदैन । यसको वास्तविक मापन त दुर्गमका नागरिकले गाउँमै पाउने सेवाबाट हुन्छ ।
त्यस्तै, शिक्षा क्षेत्रमा पनि केवल भवन निर्माणलाई मात्र विकास मान्ने भ्रमबाट मुक्त हुनुपर्छ । डिजिटल शिक्षा र प्राविधिक शिक्षाको विस्तार नगरे सम्म कर्णालीका युवाहरू केवल श्रम बेच्नका लागि मात्र तयार हुनेछन । युवालाई आफ्नो गाउँमै अवसर सिर्जना गर्न सक्ने बनाउनु नै प्रदेश सरकारको दीर्घकालीन लक्ष्य हुनुपर्छ ।
आर्थिक आधार: माटोको उत्पादन र पर्यटन कर्णालीको समृद्धि यहाँको कृषि र पर्यटनमै अडिएको छ । स्याउ, ओखर, सिमी, र विश्वकै उचाइमा फल्ने ‘मार्सी चामल’ यहाँका हीरा हुन तर परम्परागत कृषि प्रणाली र बजारको अभावले गर्दा युवाहरू पलायन भइरहेका छन । यदि यी स्थानीय उत्पादनलाई ब्रान्डिङ र प्रशोधन गर्न सके कर्णालीले अरू प्रदेशलाई समेत पाल्न सक्ने क्षमता राख्छ ।
पर्यटनको हकमा पनि केवल पर्यटक भित्र्याएर मात्र हुँदैन । पर्यटनबाट हुने आम्दानी स्थानीयको गोजी सम्म पुग्ने प्रणाली (System) निर्माण हुनुपर्छ । होमस्टे, स्थानीय हस्तकला र पथ प्रदर्शकको माध्यमबाट युवालाई स्वरोजगार बनाउन सकिन्छ ।
आत्मसमीक्षा र आगामी बाटो प्रदेश स्थापना दिवस केवल उत्सव मनाउने दिन मात्र हुनुहुँदैन बरु यो आत्मसमीक्षाको घडी पनि हो । सरकारले कति बजेट खर्च गर्यो भन्दा पनि त्यो खर्चले नागरिकको जीवनमा कस्तो परिवर्तन ल्यायो भन्ने कुरा मुख्य हो । पारदर्शिता, जवाफदेहिता र सार्वजनिक खर्चको प्रभावकारितामा अझै धेरै काम गर्न बाँकी छ ।
कर्णाली अब विकासको प्रतीक्षा गरेर बस्ने भूगोल होइन । संघीय सरकारको मुख ताकेर बस्ने प्रवृत्तिलाई त्यागेर आफ्नै स्रोत र साधनको अधिकतम उपयोग गर्दै अघि बढ्नुपर्छ । कर्णालीको सफलता मन्त्रालयका भवन वा योजनाको संख्याले होइन बरु हुम्लाको एउटा कुनामा बस्ने नागरिकको मुहारमा आउने चमकले मापन हुनेछ ।
निष्कर्ष कर्णालीको संघर्ष जारी छ पहिचानका लागि सुरु भएको संघर्ष अब समृद्धिका लागि केन्द्रित हुनुपर्छ । राजनीतिक अस्थिरता र केन्द्रमुखी मानसिकताबाट मुक्त भएर, उत्पादनमा आधारित अर्थतन्त्र र गुणस्तरीय सामाजिक सेवालाई प्राथमिकता दिँदै अघि बढ्नु नै कर्णालीको उज्ज्वल भविष्यको एक मात्र मार्गचित्र हो । कर्णालीले अब आफ्नो इतिहासको दुखान्त होइन, भविष्यको सुखान्त कथा लेख्नुपर्छ ।





