जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–५ श्रीनगरबाट प्रहरीले लागूऔषध (चरेस) सहित एक युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार बुधबार बिहान करिब ९ः३० बजे गोप्य सूचनाका आधारमा प्रहरीले तातोपानी गाउँपालिका–५ श्रीनगरका २५ वर्षीय सुवास डाँगीलाई पक्राउ गरेको हो।
प्रहरी टोलीले डाँगीको घरमा खानतलासी गर्दा लागूऔषध (चरेस) जस्तो देखिने कालो पदार्थ फेला पारी बरामद गरेको जनाएको छ। बरामद पदार्थलाई मान्यता प्राप्त तराजुले नापतौल गर्दा शुद्ध तौल ८ ग्राम ४३० मिलिग्राम रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका डाँगीलाई जिल्ला अदालत जुम्लाको आदेशअनुसार म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।





