जुम्ला । अविरल वर्षाका कारण पहिरो जाँदा कर्णाली राजमार्गका साथै आसपासका विभिन्न सडक खण्डमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ ।

कर्णाली राजमार्गको जुम्ला खण्डअन्तर्गत तातोपानी गाउँपालिका–१ स्थित राँकामा ठूलो सुक्खा पहिरो खसे पछि सडक पुरै बन्द भएको छ । तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाँईका अनुसार राँकामा खसेको पहिरोका कारण सो क्षेत्रमा सवारी साधनको आवतजावत ठप्प बनेको छ । यस्तै, कालिकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगने खोलामा पनि पहिरो जाँदा दैलेख–कालिकोट सडक खण्ड प्रभावित भएको छ ।
वर्षाका कारण शनिबार बिहानै देखि दैलेख, कालिकोट, हुम्ला, मुगु र जाजरकोटका विभिन्न सडकहरूमा यातायात सञ्चालन हुन सकेको छैन ।
अन्य प्रभावित सडक खण्डहरू
कर्णाली करिडोर हुम्ला सर्केगाडको खच्चा क्षेत्रमा पहिरो जाँदा सडक अवरुद्ध ।
नाग्मा (गमगढी सडकखण्ड मुगु रारा जाने मार्गको झारीखोलामा पहिरो खसेकाले यातायात ठप्प ।
छेडा (थलह भित्री सडक जाजरकोट छेडागाड नगरपालिका –४ स्थित लेवाभीरमा माथिबाट ढुंगा र लेदो सहितको पहिरो खस्दा सडक पूर्ण रूपमा बन्द ।
विभिन्न स्थानमा खसेको पहिरो पन्छाएर राजमार्ग सञ्चालनमा ल्याउन प्रहरी तथा स्थानीय निकायले पहल गरिरहेका छन् ।





