जुम्ला । अविरल वर्षा र पहिरोका कारण जुम्लाको खलङ्गा–पातारासी सडक खण्ड र स्थानीय विद्युत् सेवा पूर्ण रूपमा प्रभावित भएको छ।

वर्षासँगै रानाराउत क्षेत्र लगायत ग्रामीण तथा मुख्य सडकका विभिन्न स्थानमा माथिबाट पहिरो खस्दा यातायात सेवा ठप्प बनेको छ । सडक अवरुद्ध भए लगत्तै चन्दननाथ नगरपालिकाका नगर प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले घटनास्थल पुगेर पहिरो हटाउने र सडक खुलाउने प्रयास गरेकाे हाे ।
विपद्का बेला जोखिम मोलेर सडक खुलाउन खटिएका सुरक्षाकर्मी र स्थानीय युवाहरूको योगदानको स्थानीयवासीले प्रशंसा गरेका छन् ।
स्थानीय युवा नेता भक्त बहादुर बुढाका अनुसार पहिरोले सडक मात्र नभई चुकेनी जलविद्युत् आयोजनामा समेत ठूलो क्षति पुर्याएको छ । पोल ढलेका र तार चुँडिएका कारण विद्युत् सेवा अवरुद्ध हुँदा जुम्लावासी अँध्यारोमा बस्न बाध्य भएका छन् ।
वर्षा र पहिरोले नागरिकको दैनिक जीवन थप कष्टकर बनेको छ । नेता बुढाले भने, अवरुद्ध सडकका कारण यात्रुहरू बीचबाटोमै रोकिएका छन् भने कयौँ बस्ती जोखिममा छन् । यस्तो कठिन अवस्थामा नागरिकलाई सुरक्षित राख्नु र अत्यावश्यक सेवा तत्काल सञ्चालनमा ल्याउनु सबैको साझा जिम्मेवारी हो ।
उनले सडक तथा विद्युत् जस्ता अत्यावश्यक पूर्वाधारलाई यथाशीघ्र पुनः सञ्चालन गर्न सम्बन्धित निकाय, स्थानीय प्रशासन र सरोकारवालाहरूबीच तीव्र समन्वय तथा सहकार्यका लागि आग्रह गरेका छन् ।





