जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान kASH मा बिहीबार देखि टेलिमेडिसिन सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ । सेवाको सुरुवात सँगै कर्णालीका दुर्गम तथा विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध हुन नसक्ने क्षेत्रका नागरिकलाई विशेषज्ञ चिकित्सकको परामर्श लिन थप सहज हुने भएको छ ।

टेलिमेडिसिन सेवाको औपचारिक उद्घाटन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर प्रा डा धर्मभक्त सुवेदीले गर्नुभएको हो । उद्घाटनसँगै जाजरकोटका एक बिरामीलाई टेलिमेडिसिन मार्फत स्वास्थ्य सेवा प्रदान गर्दै प्रतिष्ठानले नयाँ सेवाको सुरुवात गरेको हो ।
प्रतिष्ठानका अनुसार टेलिमेडिसिन सेवाले प्रतिष्ठानको क्याचमेन्ट क्षेत्रभित्र रहेका विभिन्न स्वास्थ्य संस्थाबाट उपचारका लागि आउने बिरामीलाई आवश्यकता अनुसार विशेषज्ञ चिकित्सकीय परामर्श उपलब्ध गराउन सहयोग गर्नेछ । विशेषगरी भौगोलिक रूपमा विकट र विशेषज्ञ चिकित्सकको प्रत्यक्ष पहुँच सीमित रहेका क्षेत्रका नागरिक यस सेवाबाट लाभान्वित हुने अपेक्षा गरिएको छ ।
यो सेवा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र छाया नेपाल Chhaya Nepal को संयुक्त पहलमा सञ्चालनमा आएको हो । टेलिमेडिसिन सेवा सञ्चालनका लागि आवश्यक सहयोग तथा सहकार्य उपलब्ध गराएकोमा प्रतिष्ठानले छाया नेपालप्रति आभार व्यक्त गरेको छ ।
सेवा शुभारम्भकै अवसरमा प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा बिनम्र बिष्ट र छाया नेपालको तर्फबाट कर्णाली संयोजक बीच सम्बन्धित सम्झौता तथा सामग्री हस्तान्तरणसम्बन्धी कागजातमा हस्ताक्षरसमेत भएको छ।
कार्यक्रममा प्रतिष्ठानका विभिन्न विभागका विभागीय प्रमुख तथा इन्चार्ज, नर्सिङ निर्देशक, चिकित्सक, प्राध्यापक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
टेलिमेडिसिन सेवाको प्रभावकारी सञ्चालनसँगै कर्णालीका दुर्गम बस्तीका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवासँग जोड्न सहज हुने प्रतिष्ठानको विश्वास छ । यसबाट स्वास्थ्य सेवाको पहुँच विस्तारसँगै गुणस्तर, निरन्तरता र विशेषज्ञ परामर्शमा नागरिकको पहुँच थप बलियो हुने अपेक्षा गरिएको छ ।





