काठमाडौं । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण मंसिरको पहिलो साता गराउने गरी नेपाल र भारत दुवै पक्षले गृहकार्य अघि बढाएका छन् ।

स्रोतका अनुसार प्रधानमन्त्री शाहको भ्रमण मंसिर ७ गतेदेखि गराउने गरी प्रारम्भिक तयारी भइरहेको छ । भ्रमण तीन दिनको हुने गरी सम्भावित कार्यतालिकामा गृहकार्य भइरहेको स्रोतको भनाइ छ ।
भ्रमणको मिति भने अहिलेसम्म औपचारिक रूपमा तय भएको छैन। मंसिर ७ गतेलाई प्रस्तावित मितिका रूपमा मात्रै हेरिएको स्रोतले जनाएको छ ।
सम्भावित भ्रमणलाई लक्षित गर्दै उच्चस्तरीय भेटवार्ता, द्विपक्षीय छलफल तथा आपसी समझदारीका विषयमा समेत गृहकार्य भइरहेको छ । दुई देशबीचका आपसी हित र सहकार्यका विभिन्न विषय भ्रमणका क्रममा छलफलमा आउने गरी तयारी भइरहेको बताइएको छ ।
नेपाल र भारतबीच विभिन्न तहमा भइरहेको संवादकै निरन्तरताका रूपमा भ्रमणको मिति र कार्यतालिका तय गर्न कूटनीतिक तहबाट गृहकार्य भइरहेको बताइएको छ ।





